arin enterprises

स्वास्थ्य संस्थाकै कर्मचारीमा संक्रमण देखिँदा तनाव

SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख ३१, बुधबार

मृगौलाको डायोलाइसिस लगायतका स्वास्थ्य सेवा पुर्याउँदै आएको पूल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सो फाउन्डेसनको साथै निदान अस्पताल क्षेत्र समेत सिल गरिएको छ ।

आरोग्य प्रतिष्ठानको भवन र निदान अस्पताल एउटै प्राङ्गणमा रहेको हुनाले फाउन्डेसनको साथै निदानमा पनि सिल गरिएको हो ।

मंगलबार संक्रमण पुष्टि हुने ८३ जनामध्ये मध्यपुर थिमि निवासी २५ वर्षकी महिला आरोग्यको लेखा शाखामा कार्यरत एकाउन्टेन्ट भएको बताइएको छ ।

श्रोतले बताए अनुसार महिला बैशाख २९ गते सुन्सरीबाट एक सहयोगीसँगै मोटरसाइकलमा सिधै उपत्यका भित्रिने नाकामा आएकि थिइन् ।

नाकामा उनलाई प्रतिष्ठानकै एक जना कर्मचारीले मोटरसाइकलबाट पुल्चोकस्थित प्रतिष्ठानमा ल्याएको र त्यहाँबाट मध्यपुर थिमिस्थित साथीको डेरामा गएको श्रोतले जानकारी दिएको छ ।

यसैबीच, निदान अस्पतालले भने विज्ञप्ती जारी गरी महिलाले अस्पताल प्राङ्गणमा प्रवेश नै नगरेको दावी गरेको छ ।

पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी बस्ने स्थान मध्यपुर थिमिबाट टेकु अस्पताल पुर्याउन आरोग्य प्रतिष्ठानको गाडी प्रयोग भएको र ड्राइभरको साथमा एकजना कर्मचारी उनको सम्पर्कमा आएको विज्ञप्तीमा उल्लेख छ ।

ती कर्मचारी र ड्राइभर पनि हाल आइसोलेसनमा बसेको निदानले जनाएको छ ।

निदानले संक्रमित महिला अस्पताल प्राङ्गणमा प्रवेश नै नगरेको बताइरहँदा उक्त क्षेत्र किन सिल गरियो भन्ने प्रश्न भने उब्जिएको छ ।

केही संचारमाध्यमले संक्रमित महिला निदानमा कार्यरत स्टाफ नर्स भनी सम्प्रेषण गरेको समाचारको खण्डन गर्दै सो कुरामा सत्यता नभएको पनि निदानले प्रष्ट पारेको छ ।

 

मध्यपुर थिमिस्थित शंखधर चोकस्थित क्षेत्र पनि सिल

महिलामा संक्रमण पुष्टि भएसँगै मध्यपुर थिमी नगरपालिका–४ स्थित शंखधर चोक र वरपरको क्षेत्र पनि सिल गरिएको छ । 

महिला सो क्षेत्रमा साथीको डेरामा बस्दै आएकि थिइन् ।

सिल गरिएको क्षेत्रमा यातायात बन्द गरिएको छ । प्रहरीले सबैजसो सडकमा डोरी टाँगी र बार लगाई बन्द गराएको छ ।

महिलाको कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Categorized in समाज