रहिनन् ‘सुर कोकिला’ लता मंगेशकर
SamacharDesk – एजेन्सी | २०७८ माघ २३, आइतबार

भारतीय पार्श्वगायिका लता मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ ।
मुम्बइको ब्रीच कैन्डी अस्पतालका डाक्टर प्रतीत समदानीले सुप्रसिद्ध गायिका मंगेशकरको आज बिहान ८ः१२ बजे निधन भएको पुष्टि गरेका हुन् । उनी जनवरी महिनामा कोभिड–१९ बाट सङ्क्रमित भएर स्वास्थ्यमा खराबी देखिएपछि ब्रीच कैन्डी अस्पतालमा उपचाररत थिइन् ।
भारतीय बलिउड फिल्म उद्योगकी महान् गायिका लता मंगेशकरको निधनपछि भारतीय राष्ट्रपति, प्रधानमन्त्री, बलिउड तथा अन्य सिनेकर्मी, सेलिब्रिटीलगायत विश्वभरबाट उनीप्रति श्रद्धाञ्जलि आउने क्रम जारी छ ।
भारतीय केन्द्र सरकारले उनको सम्मानमा दुई–दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
उनको पार्थिव शरीरलाई मुम्बईस्थित शिवाजी पार्कमा आजै राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरिने भएको छ ।
आफ्नो ५० वर्षभन्दा लामो सांगीतिक यात्राका दौरान मंगेशकरले करिब ३६ वटा भाषामा ३० हजारभन्दा बढी गीत रेकर्ड गराएकी छिन् । उनलाई ‘स्वर कोकिला’, ‘सुर कोकिला’, ‘स्वर साम्राज्ञी’ लगायतका उपनाम पनि दिइएको छ ।
भारतको इन्दौरमा सन् १९२९ सेप्टेम्बर २८ का दिन उनको जन्म भएको थियो । उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि मराठी संगीत–नाटकका प्रसिद्ध गायक थिए ।
Categorized in पेजथ्री