arin enterprises

आयोगले ६ महानगरको मतपत्र अन्तिम नामावलीपछि छाप्ने

SamacharDesk | २०७९ बैशाख १०, शनिबार

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाई तीब्ररुपमा भइरहेको आयोगको भनाई छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । उम्मेदवारको मनोनयन गरिने अघिल्लो दिन आयोगमा आज गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसलाई  आयोगको पूर्व निर्णय बताउनुभएको छ । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ । यसो हुँदा राष्ट्रिय दलहरुले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न रहनेछ । उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न हुने छैन । प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोगले स्पष्टीकरण सोधिरहेको बताउनुभयो ।

उहाँले स्पष्टीकरण सोधिएकाहरुलाई जवाफअनुसार कारबाही गरिएको जानकारी दिइने बताउनुभयो । प्रमुख आयुक्त  थपलियाले राजनीतिक दलहरुलाई महिलाको उम्मेदवारी कम हुनेभन्दा वढाउनेतिर लाग्न आग्रह गर्नुभयो । स्थानीय तह निर्वाचन ऐनमा एकल उम्मेदवार दर्ता गर्ने राजनीति दलले महिला नै उठाउनुपर्ने व्यवस्था नभएपनि महिलालाई प्राथमिकता दिन उहाँको आग्रह थियो । कुनै राजनीतिक दलले ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने कानुनी व्यवस्था ख्याल गर्दै उम्मेदवारी दर्ता गराउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । थपलियाले ‘गठबन्धन’ भन्ने शब्द आयोगको कानुननमा नभएको भन्दै जुन चिह्नबाट उम्मेदवारी दिइन्छ सो उम्मेदवार सोही दलको हुने उहाँको भनाइ थियो ।

यसैबीच आइतबार र सोमबार हुने उम्मेदबारी दर्ताका क्रममा निर्वाचन आयोगले दल तथा उम्मेदवारका झण्डा र तथा चुनाव चिह्न लगायतका वस्तु प्रर्दशनमा कडाइ गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्माले आमसभा र  मोटरसाइकल ¥याली जस्तामा झन्डाहरुको अत्याधिक प्रयोगमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । उम्मेदवारी दर्तापछि पार्टी र उम्मेदवारको चिह्न अंकित कपडा, भेस्ट, टिसर्ट, क्याप वा झोला बोकेको पाइए कारबाही हुने उहाँको भनाइ छ ।

Categorized in राष्ट्रिय