नेपाल आलेम्पिक कमिटीको वार्षिक साधारण सभा सम्पन्न
SamacharDesk – बिराज | २०७७ कार्तिक २८, शुक्रबार

नेपाल ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा भर्च्युअल्ली सम्पन्न भएको छ । कोभिड—१९ महामारीको अवस्थामा ओलम्पिक कमिटिको वार्षिक साधारण सभा जुममार्फत भर्च्युअल्ली सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोभिड महामारीको अवस्थामा पनि कमिटिले विभिन्न अनलाईन तालिम र प्रशिक्षणहरु संचालन गरेकोमा प्रशंसा गर्नुभयो । मन्त्री विश्वकर्माले महामारीमा पनि कमिटीले आफ्नो साधारण सभा सम्पन्न गर्न सफल भएकोमा बधाई दिनुभयो ।
कमिटिका पुर्व अध्यक्ष साथै मानार्थ अध्यक्ष रुक्म शम्शेर राणाले नेपाली खेलकुदका अभिलेखहरु संकलन गर्ने र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
मानार्थ अध्यक्ष श्री ध्रुब बहादुर प्रधानले वर्तमान परिस्थितिमा कसरी खेलकुदलाई अगाडि बढाउने भन्ने सल्लाह तथा सुझाव दिनु भयो ।
कमिटीका अध्यक्ष साथै संघीय सांसद् जिवन राम श्रेष्ठले कोभिड-१९ महामारीका कारण टोकियो २०२० ओलम्पिक एक वर्ष सर्न गइ सन् २०२१ जुलाई २३ देखि अगष्ट ८ तारीखसम्म हुने जानकारी गराउनभयो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले अहिलेको अवस्थामा नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यानमा राखी खेलकुदका कार्यक्रमहरु संचालन गर्ने जानकारी गराउनुभयो ।
सभाको उद्घाटन सत्रमा ओलम्पिनहरुको तर्फबाट ओलम्पियन दिपक विष्ट, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष श्री देबेन्द्र सुबेदी, कमिटिका सल्लाहकार पूर्व खेलकुद मन्त्री शरत सिंह भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सभाको बन्द सत्रमा कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले सन् २०१९/२०२० को कमिटीको वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाले कमिटीका अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको कमिटिको आर्थिक नियमावली र कर्मचारी नियमवाली सर्वसम्मत पारित गरेको थियो ।
साथै सोही सभाले कमिटिको आर्थिक वर्ष २०७६/७७ को आर्थिक प्रतिवेदन र सन् २०२१ को अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ ।
कमिटिको १२औं वार्षिक साधारण सभा सन् २०२१ नोभेम्बर ५ र ६ मा गर्ने निर्णय गरिएको छ ।
Categorized in स्पाेर्ट्स