राज्य कोष दुरुपयोग आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री र उनकी पत्नी जेलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १७, बुधबार

राज्य कोषको दुरुपयोगको आरोपमा फ्रान्सका पूर्वप्रधानमन्त्री फ्रास्वाँ फियों र उनकी पत्नी पेनेलोपलाई जेल सजाय सुनाइएको छ ।
पेरिसको एक अदालतले सोमबार पेनेलोपको नक्कली रोजगारीको मुद्दामा सार्वजनिक कोष हिनामिना र राज्य कोषको दुरुपयोग गरेको भन्दै फ्रास्वाँ फियोंलाई ५ वर्ष र उनकी पत्नी पेनेलोपलाई ३ वर्षको जेल सजाय सुनाएको हो ।
दुवैलाई ३ लाख ७५ हजार युरो जरिवाना समेत तिराउन आदेश दिइएको बीबीसीले जनाएको छ ।
पूर्वप्रधानमन्त्री फियोंमाथि कुनै काम नभएको पद सिर्जना गर्दै नियुक्ती गरी आफ्नी पत्नीलाई ८ लाख ३१ हजार ४ सय युरो दिएको तर कुनै काममा भने नलगाएको आरोप लगाइएको छ ।
त्यस्तै मार्क जुलोलाई नामक एक व्यक्तिलाई फियों दम्पतीलाई राज्य कोषको दुरुपयोगमा सहयोग गरेको आरोप लागाउँदै १० लाख युरो राष्ट्रिय सभालाई फिर्ता दिन आदेश दिइएको बीबीसीले लेखेको छ ।
वर्तमान राज्यशक्तिले आफूहरुमाथि गलत नियत राखेको भन्दै फियों दम्पतीले अदालतको फैसला विरुद्ध अपिल गर्ने जनाएका छन् ।
यस हिनामिनाका कारण सन् २०१७ को राष्ट्रपती निर्वाचनको अभियानलाई अचानक अन्त्य गरिएको थियो ।
त्यस्तै यो मुद्दा लागेपछि उनलाई राष्ट्रपति उम्मेदवारमा लड्न अयोग्य घोषित गरी अनुसन्धान गर्नुपर्ने माग गरिएको थियो ।
फियों सन् १९५८ यता यति कडा सजाय पाउने पहिलो वरिष्ठ फ्रान्सेली राजनीतिज्ञ हुन् ।
Categorized in अन्तर्राष्ट्रिय