निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता
SamacharDesk – विकाश | २०७७ आषाढ २१, आइतबार

वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा गरिएको अनलाइन तबला वादन प्रतियोगितामा निमेश कपाली प्रथम भएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक घोषित हुँदै कपालीले अमेरिकाको टेक्ससस्थित स्कूल अफ इन्डियन पर्क्यूसन एन्ड म्यूजिकको १ महिने अनलाईन कोर्षको लागि छात्रवृत्तिको साथमा नगद रु १० हजार जितेका छन् ।
अनलाईन तबला वादनको ग्रायण्ड फिनालेमा द्वितीय स्थान प्राप्त गरेका अजय चौधरीले नगद पुरस्कार रु ७ हजार, तृतीय भएका अभय महर्जनले नगद रु ५ हजार प्राप्त गरे ।
त्यस्तै सबैभन्दा बढी भ्यूज प्राप्त गरेका उजन डंगोलले रु ५ हजार नगद पुरस्कार जितेका छन् ।
सान्त्वना पुरस्कार जित्न सफल रुबि श्रेष्ठ लाखेर उत्कृष्ट १० मा पर्न सफल भएका प्रतियोगीहरुले गुरु रविनलाल श्रेष्ठको जयश्री तालको सिडी तथा पुस्तक उपहार प्राप्त गरेका छन् ।
वरिष्ठ तवला वादक गुरु रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले अनलाईन तबला वादन प्रतियोगिताको आयोजना गरेको हो ।
खुल्ला प्रतियोगिताको लागि आव्हान गरिएतापनि कोरोना जोखिमलाई ध्यानमा राखी अनलाईनमार्फत प्रतिस्पर्धा आयोजना गरिएको आयोजकले जनाएको छ ।
२५ जना प्रतिस्पर्धीहरुबाट उत्कृष्ट १० को छनौट गरिएको थियो । हाल अमेरिकामा रहेका प्रसिद्ध भारतीय तबला वादक गौरीशंकर कर्माकरले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
१० बर्ष अघि गुरु रविनलाल श्रेष्ठप्रति समर्पित हुँदै उहाँकै शिष्यहरुबाट जयश्री संगीत समाज स्थापना भएको हो ।
गुरु श्रेष्ठको रचना जयश्री तालकै नामबाट यस संस्थाको नामाकारण गरिएको हो ।
Categorized in पेजथ्री