arin enterprises

अब दिउँसो ट्रिपर चलाउन नपाइने

SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ २८, बिहिबार

दिनहुँजसो ट्रिपरका कारण सडक दुर्घटना हुनथालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले आउँदो श्रावण १ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

यो निर्देशन पछि अब बिहान ५ बजेदेखि राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटा दुर्घटना ट्रिपरको कारण भएका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गृहको यो निर्णयपछि कैयनले ट्रिपरबाट हुने दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन् भने यसबाट ट्रिपर चालकहरु झन अराजक बन्न सक्ने अड्कल गरेका छन् ।

रातको समयमा प्रहरीहरुको उपस्थिती पनि कम हुने र कैयन सडकहरुमा बत्तीसम्म नहुने अवस्थामा राती हिँड्नुपर्ने सर्वसाधारणको लागी झन जोखिमपूर्ण हुने तर्क पनि धेरैले गरेका छन् ।

सवारी दुर्घटनाको कानूनलाई नै कडा बनाउनुपर्नेमा रातको समयमा मात्र ट्रिपर सञ्चालन गर्न दिने नियमले सवारी दुर्घटना गराउने चालकलाई बचाउन खोजेको भन्दै पनि सर्वसाधारणले सामाजिक संजालमा विचार पोखेका छन् ।

Categorized in राष्ट्रिय