arin enterprises

३ बर्ष अगाडि अस्ताएका रकस्टारलाई श्रद्धान्जली

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ श्रावण ५, सोमबार

विश्व चर्चित अमेरिकी रक सांगितिक ब्यान्ड लिंकिन पार्कका गायक – चेस्टर बेनिंगटन ।

ठिक आजभन्दा ३ वर्ष अघि, अर्थात जुलाई २० २०१७, विश्वको संगीत जगतलाई स्तब्ध बनाएको त्यो दिन । 

यहि दिन हो, जुन दिनमा बेनिंगटन आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परे । हो, उनले आत्महत्या गरे, झुन्डिएर ।

उनको आत्महत्याको खबरले विश्व संगीत क्षेत्रमा नै खलबली मचेको थियो ।

उनको आत्महत्याको कारण डिप्रेशन बताइएको छ तर यकिन तथ्य भने अहिलेसम्म भेटिएको छैन ।

 

बेनिंगटनको परिचय 

बेनिंटनको सफलता जति लोभलाग्दो छ, उनको निजी जीवन त्यति नै दर्दनाक र पीडादायक छ ।

उनको जन्म सन् १९७६ मार्च २० मा अमेरिकाको फीनिक्सस्थित एरिजोनामा भएको थियो ।

उनी ११ वर्षको हुँदा उनका बाबु–आमाले डिर्भोस गरेका थिए । 

बेनिंगटन ७ बर्षको हुँदा यौन दुर्व्यवहारको शिकार बने । यो दुर्व्यवहार उनले आफु १३ बर्ष हुँदासम्म सहनुपर्यो । 

आफुलाई समलिङ्गि भन्ला कि वा वा झुठा ठहर गर्ला कि भन्ने डरले उनले यो पीडा कसैलाई सुनाउनै सकेनन् ।

स्कुलमा पनि धेरै दुव्लो भएकाले सहपाठीहरुले पिट्ने, झोलामा पोका पारेर घिसार्ने जस्ता शारिरीक यातना पनि दिने गर्थे । 

यस्तै यातना, यौन दुराचार र घरको अवस्थाको कारणले उनलाई सानो उमेरदेखि नै ठुलै मानसिक तनाव हुने गथ्र्यो । 

यस किसिमको तनावबाट ध्यान हटाउन उनले कविता लेख्ने र चित्रहरु कोर्ने गर्न थाले ।

तनावबाट छुटकारा पाउन श्रृजनासँगै उनी कुलतमा पनि फस्न थाले । उनलाई रक्सी, गाँजाको साथै अफीम, कोकेन, मेथ, र एलएसडी जस्ता कुलतले पनि च्याप्यो ।

उनले दुईपटक विवाह गरे र उनका ६ जना छोराछोरी छन् ।

 

सांगितिक क्षेत्रमा पदार्पण र लिंकन पार्कको सुरुवात 

संगीत क्षेत्रमा लाग्नु भन्दा पहिला उनी बर्गर किंगमा काम गर्थे ।

बेनिङ्टनले सन् १९९२ मा ग्रन्ज ब्यान्ड ग्रे डेज मार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । 

तर सन् १९९६ मा लिंकिन पार्कमा आबद्ध भएपछि उनी रक संगीत क्षेत्रमा हट केक बन्न थाले । 

यस ब्यान्डले सन् २००० को दशकमा आफ्नो पहिलो एल्बम हाइब्रिड थ्योरी निकाल्यो । यस एलबमले विश्वकै बजार पिट्न सफल भयो । हाइब्रिड थ्योरी एल्बम ७ करोड बढि प्रति बिकेको थियो ।

लिंकिन पार्कको नम्ब, इन द इन्ड, न्यु डिभाइड, समह्वेर आइ बिलोंग जस्ता गीत निकै चर्चामा छन् ।

त्यस यता यस लिंकिन पार्कले धेरै अवार्ड जित्नुका साथै विश्व संगीतको सबैभन्दा प्रतिष्ठित ग्रेमी अवार्ड २ पटक जितेको छ । 

बेनिंगटन र उनको सांगीतिक समूह लिंकिन पार्क युरोप र अमेरिकामा दक्षिण–पूर्वी एसियामा निकै चर्चित छ ।

२०१७ मे मा आत्महत्या गरेका साउन्ड गार्डेन व्यान्डका गायक क्रिस कर्नेलको अन्त्येष्टिका दौरान बेनिंगटनले सांगीतिक प्रस्तुति दिएका थिए । त्यो बेला कोर्नेलका परिवारको साथमा शुभचिन्तकलाई शोकका बेला हरेस नखान भनेर बेनिङटनले सामाजिक संजालमा लेखेका पनि थिए ।

तर शोकको बेला अरुलाई यसरी सान्त्वना दिने बेनिङ्टन आफैले आत्माहत्या गरेर यो संसार छोडेर गए ।  

डिप्रेशनको शिकार भएर कुनै समय रक्सी र ड्रग्स्को कुलतमा फसेका बेनिंगटनले आत्महत्या भन्दा केहि बर्ष अगाडि रक्सी र ड्रग्स् सेवन नगरेको बताएका थिए ।

तरपनि उनी डिप्रेशनवाट पूर्णरूपले मुक्त भएका थिएनन् । 

उनले एकपटक आफुलाई यो संसारप्रति घृणा लाग्ने गरेको समेत बताएका थिए ।

शायद त्यो भनाईले उनको आशय बताइरहेको थियो । तर कसैले बुझ्न सकेनन् । बुझ्न सकेको भए एउटा गलत कदमबाट उनलाई बचाउन सकिन्थ्यो ।

तर आजको यथार्थ भनेको रक संगीत क्षेत्रका एक हस्ती बेनिंगटन हामी बीच छैनन् । उनीप्रति हार्दिक श्रद्धान्जली ।

Categorized in पेजथ्री