arin enterprises

रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित

SamacharDesk – बिराज | २०७७ श्रावण ७, बुधबार

ललितपुरको रातो मच्छिन्द्रनाथको रथारोहण फेरी स्थगित भएको छ ।

गुठी संस्थानले आज सूचना जारी गर्दै आउँदो श्रावण १० गते रथारोहण गर्ने भनिएकोमा कोभिड १९ संक्रमणका कारण हाललाई रथारोहण स्थगित भएको जनाएको छ ।

संस्थानबाट जारी सूचनामा ज्योतिषबाट पुनः साइत प्राप्त भएपछि रथारोहण हुने जानकारी गराएको छ ।

हिजो मात्रै गुठी संस्थान ललितपुरले पत्र जारी गर्दै आउँदो श्रावण १० गते मच्छिन्द्रनाथ रथारोहणको लागि दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत प्राप्त भएको जनाएको थियो ।

बाराही नाइकेको नाममा लेखिएको सो पत्रमा श्रावण १० गते दिनको १२ः०५ देखि १२ः२५ सम्मको साइत प्राप्त भएकोले सो अनुसार गर्नको लागि भनी लेखेको थियो ।

नेपाल सरकारले हिजो मध्यरातबाट लकडाउन पूर्ण रुपमा खोलेको बताएपनि जात्रा, सभा, समारोह जस्ता भीड जम्मा हुने कार्यक्रममा प्रतिवन्ध कायम नै रहेको बताएको थियो ।

नेपाल सरकारको यस्तो निर्देशनका वावजुद हिजै गुठी संस्थान ललितपुरले रथारोहणको लागि भन्दै सरोकारवालालाई पत्र जारी गरेको थियो ।

यसबारेमा गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुसँग जानकारी लिन फोन सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन ।

यो भन्दा अघि पनि असार २४ गतेका लागि रथारोहणको साइत दिइएको थियो भने अघिल्लो दिनमा आएर स्थगित गरिएको थियो ।

पटक पटक नयाँ साइत दिने र पटक पटकको स्थगनले आम जनमानसमा अन्यौलको साथै शंकाको वातावरण बन्दै गएको छ ।

Categorized in संस्कृति