भेनिसमा डुङ्गामा ५ जनामात्र बस्न पाइने
SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ७, बुधबार

ईटालीको पर्यटकिय शहर हो भेनिस । यहाँ लकडाउन खुकुलो भएसँगै पर्यटकका लागि एउटा डुङ्गामा ५ जना मात्र बस्न मिल्ने नियम ल्याइएको छ ।
पर्यटकीय क्षेत्रको हिसाबले अति महत्वपूर्ण मानिने भेनिस शहरको मुख्य सवारी साधन डुङ्गा हो ।
भेनिस डुङ्गा संगठनका अध्यक्ष एन्ड्रीया बेल्बीका अनुसार पहिला ६ जनासम्म डुंगामा राखी सहर घुमाउने गरिन्थ्यो भने अहिले ५ जना मात्र बस्न मिल्ने नियम लागू गरिएको हो ।
कोरोनाभाइरसबाट बच्न भौतिक दूरीको निम्ति यस्तो कदम भने चालिएको होइन ।
लकडाउनका कारण मान्छेहरुको शरीरको तौल बढी हुने गरेको र डुंगामा तोकिएको भन्दा बढी तौल राखेमा मोड्नुपर्दा गाह्रो हुने उनको गुनासो छ ।
बिगत १० वर्षदेखि नै यहाँ घुम्न आउने पर्यटकहरुको औसत तौल बढिरहेको पनि उनले बताए ।
भेनिस सहरको विशेषता भनेको यहाँका लामो तर चौडाई कम भएका डुंगाहरु हुन् । यस्ता डुंगाहरुमा भार बढी भएमा डुंगा तलतिर डुब्न थाल्ने र पानी भित्र छिर्ने बताउँछन् बेल्बी ।
विश्वमा धेरै संख्यामा पर्यटकको रोजाई बन्ने देशमा इटाली पाँचौ स्थानमा पर्दछ । इटाली पुग्ने पर्यटकहरु भेनिस नपुगी फर्किँदैनन् ।
भेनिस पानीको माथि बसालिएको सहर हो । यहाँका पुरातात्विक संरचनाहरुका कारणले गर्दा पर्यटन नै यस क्षेत्रको मुख्य आयश्रोत बनेको छ ।
कोरोनाभाइरस महामारीका लागि युरोप महाद्वीपको पहिलो केन्द्रविन्दु बनेको इटालीमा पर्यटन क्षेत्र निकै खस्केको र पर्यटन व्यवसायबाट घरखर्च चलाउन गार्हो भएको त्यहाँका स्थानीय व्यवसायीहरु बताउँछन् ।
Categorized in अन्तर्राष्ट्रिय