arin enterprises

प्रवक्ताज्यू, ३० जना संक्रमित कता हराए ?

SamacharDesk – बिकाश | २०७७ श्रावण १२, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएको ४ हजार ८ सय १८ नमूना परिक्षण भएकोमा एक सय ३९ जना संक्रमित भेटिएको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एक सय ३९ जना नयाँ संक्रमित भेटिएको जनाए ।

प्रवक्ता गौतमले कुन प्रयोगशालामा कति जना संक्रमित भेटिए भन्ने पनि रिपोर्ट पनि सुनाए । तर उहाँले प्रयोगशालामा पुष्टि भएका पोजेटिभ संख्याहरु सबै जोडिसकेपछि भने उहाँलाई एउटा प्रश्न सोध्नुपर्ने भएको छ, ‘प्रवक्ताज्यू, ३० जना संक्रमित कता हराए ?’

प्रवक्ता गौतमले प्रस्तुत गर्नुभएको विवरण जोडि हेर्दा पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितको संख्या एक सय ९ मात्र हुन आउँछ । 

एक जना होइन, दुई जना होइन, ३० जनाको संख्या फरक देखिएपछि प्रश्न नगरी बस्नै नसकिने भयो, ‘प्रवक्ताज्यू, ३० जना संक्रमित कता हराए ?’

आज गौतमले प्रस्तुत गर्नुभएको विवरण अनुसार नयाँ संक्रमित संख्या यस प्रकार रहेको छ ।

दैलेखमा २८, सप्तरीमा २१, पर्सामा २० र धनुषा र महोत्तरीमा १०÷१० जना संक्रमित थपिएका छन् भने वैतडीमा ४ जना, कास्कीको साथमा काठमाडौं र ललितपुरमा ३÷३ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी सल्यानमा २ र काभ्रेपलान्चोक, बाँके, रुपन्देही, सुर्खेत र सिराहामा एक÷एक जना संक्रमित भेटिएका छन् । 

यो सबै संख्या जोड्ने बेला एक सय ९ मात्र देखिन्छ । स्वास्थ्य मन्त्रालय आफैंले आज थप भएका नयाँ संक्रमित संख्या एक सय ३९ भनेको छ भने मन्त्रालयको आफ्नै विवरणमा जम्मा एक सय ९ मात्र देखिएको छ ।

३० जनाको संख्या फरक हुनु भनेको गम्भीर लापरवाही हो ।

यसभन्दा अघि पनि पटक पटक मन्त्रालयले यसरी नै गलती गर्दै आएको छ । एक दुइजनासम्म वा ८, १० जनासम्मको संख्या त फरक परि नै रहन्थ्यो । तर आज ३० जनाको संख्या फरक देखिएको छ ।

तथ्याङ्कमा सकभर गलती हुँदै नहुनुपर्नेमा पछिल्लो समय मन्त्रालयले दिनहुँ ससाना गलतीहरु गर्दै आएकोमा आज भने यति ठुलो संख्यामा फरक हुनेगरी विवरण प्रस्तुत गरेको छ ।

Categorized in समाज