arin enterprises

पत्रकार जितेन्द्रको ‘पव्लिक स्पिकिङ’ पुस्तक सार्वजनिक

SamacharDesk – बिकाश | २०७७ श्रावण १२, सोमबार

पत्रकारका साथै साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण साथै भाषण कला सम्वन्धि पुस्तक ‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ ।

सोमवार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्रि अधिकारीले पुस्तक सार्वजनिक गरेका हुन् । 

कोभिड १९ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै सिमित व्यक्तिहरुकै बीचमा पुस्तक सार्वजनिक गरिएको लेखक जितेन्द्र रसिकले बताए । 

पत्रकारिताको साथै उद्घोषण र भाषणकला सिक्न चाहने जो कोहिलाई यो पुस्तक उपयोगी रहेको पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्लेले बताए । 

लेखक जितेन्द्र रसिकले नेपाल जस्तो विकासोन्मुख मुलुकमा पनि सञ्चार र सञ्चार गृह व्यावसायिक रूपमा अघि बढ्न थालेको इतिहास धेरै लामो नभएको बताए । पछिल्लो समय सञ्चार क्षेत्रमा आकर्षण भने बढ्दो रहेको लेखक श्रेष्ठको भनाई रहेको छ । 

‘सञ्चार क्षेत्रमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ,’ श्रेष्ठले भने ।

पुस्तकमा सक्षिप्त रूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण र भाषणकलालगायतका विषयहरू समेटिएको छ । 

यो कृति रसिकको दशौं कृति हो । ईतिहास सम्वन्धी, जीवनी, गजल, कविता, कथा लगायत विभिन्न साहित्यिक क्षेत्रमा ९ वटा पुस्तकहरु यस अघि नै प्रकाशन भइसकेको छ ।

पुस्तक केहि दिनमै देशका सबै पुस्तक पसलहरुमा पुग्ने वितरक तथा प्रकाशक यज्ञराज न्यौपानेले बताए । 

१८२ पृष्ठ रहेको पुस्तकको मुल्य २ सय ५० रुपैयाँ रहेको छ ।

Categorized in पेजथ्री