गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनीसँग अनुबन्धित
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ श्रावण २१, सोमबार

गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनीसँग अनुबन्धित भएका छन् । आज ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा गायक बज्राचार्यले आफुले भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्यूनसँग पाँच वर्षका लागी सम्झौता गरिसकेको बताए ।
गायक बज्राचार्यले अब आफुले डिजिट्यूनका लागी हिन्दी गीतहरु पनि गाउने घोषणा गरे । गायक दिपक बज्राचार्यले हाल निकै चर्चामा रहेको आफ्नो गीत मनमगनको हिन्दि संस्करण पनि तयार गरिसकेका छन् । गायक बज्राचार्यको भनाई अनुसार सबभन्दा पहिले डिजिट्यूनले मनमगनको हिन्दी संस्करणलाई भारतमा प्रवद्र्धन गर्नेछ भने पछि बज्राचार्यलाई मौलिक हिन्दी गीतहरु पनि गाउन लगाउनेछ ।
मनमगनको हिन्दि संस्करणको प्रवर्ध्दनका लागी डिजिट्यूनले १ करोड भारतीय रुपैयाँ खर्च लागेको पनि बज्राचार्यले बताए ।
मनमगनको हालको नेपाली म्यूजिक भिडियोमै हिन्दी संस्करण पनि सार्वजनिक गरीने जानकारी बज्राचार्यले दिए । ‘अब मनमगनको म्यूजिक भिडियोसँगै भारतको च्यानलहरुमा पनि नेपालको धिमेय्, सारंगी, भुस्याः जस्ता हाम्रै मौलिक बाजाहरुको साथै लाखे, पुलुकिसि, कुमारी जस्ता विशुद्ध नेपाली संस्कृति देखिनेभयो र हाम्रो बाजाको बोल पनि भारतीय भूमिमा घन्किनेभयो’ बज्राचार्यले गर्वसाथ बताए ।
गायक दिपक बज्राचार्य भारतको डिजिट्यून कम्पनीसँग अनुबन्धित भएसँगै उनले हिन्दी फिल्ममा समेत गाउन सक्ने सम्भावना बढेको छ ।
आज सम्पन्न कार्यक्रममा गायक बज्राचार्य ‘मनमगन’ को नेपालभाषा संस्करण पनि सार्वजनिक गरेका थिए । गायक बज्राचार्यले मनमगन अब विभिन्न भाषामा पनि बन्ने र यसको शुरुवात आफ्नो मातृभाषा नेपालभाषाबाट गरेको बताए । मौलिक नेपाली संगीतमा सारा संसारलाई नचाउने उद्देश्य अनुसार गीतलाई विभिन्न भाषामा बनाउने लागिएको गायक बज्राचार्यले बताए ।
‘नेपाली मौलिक बाजा र संगीतको संरक्षण र प्रचार नै हाम्रो उद्देश्य हो । विभिन्न मातृभाषामा बनेका श्रृजनाहरुमा सम्बन्धित भाषिक समुदायले अपनत्व महसूस गर्ने हुनाले यसलाई विभिन्न भाषामा बनाउने योजना बनाएको हो’ बज्राचार्यले भने । मनमगनलाई देशका साथै विभिन्न विदेशी भाषामा समेत बनाउन लागिएको बज्राचार्यको भनाई थियो ।
विगत ८ वर्षदेखि क्रिम अफ रिदम नाम दिइ गायक बज्राचार्यले मौलिक नेपाली बाजाहरुको फ्यूजन गरी नेपाली पप गीतहरु गाइरहेका छन् । यसभन्दा अगाडि पनि बज्राचार्यले आफ्नै लोकप्रिय गीतहरु काली काली, ओ अमिरा, मायाको डोरीले आदिमा पनि नेपाली बाजाहरु समिश्रण गरी ‘मेडली’ गाइसकेका छन् भने यहि मेडलीलाई उनले अंग्रेजीमा समेत गाएका छन् ।
Categorized in पेजथ्री
