तलेजु भवानीलाई दशैघरमा विराजमान गराइयो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ कार्तिक ७, शुक्रबार

बडादशैंको आज सातौं दिन, उपत्यकाको तलेजुहरुमा विषेश पूजा हुने गर्दछ ।
यसैक्रममा पाटन दरबारको तुलजा (तलेजु) भवानीलाई मंगलबजारको मूलचोकमा अवस्थित दशैं घरमा विराजमान गराइएको छ ।
आज तुलजा (तलेजु) भवानीलाई पाटनको वकनिम्ह कवलका राजोपाध्याय ब्राह्मणद्वारा देवीलाई गर्भगृहवाट निकालि खड्गसहित तल ल्याएर दशैं घरमा राखिएको हो ।
हरेक वर्ष आश्विन शुक्ल सप्तमीको दिन यसरी नै तलेजु भवानीलाई तल ल्याउने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘द्यः कुहां बिज्याकेगु’ भनिन्छ ।
तुलजा भवनीलाई सप्तमीबाट चार दिन तल ल्याइ दशै कोठामा राखेर पूजा गरिन्छ भने आश्विन शुक्ल दशमीको दिन फेरी गर्भगृहमा फर्काइन्छ, जसलाई द्यः थहां बिज्याकेगु भनिन्छ ।
यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण आवश्यक पूजारी लगायतका व्यक्तिहरु मात्र उपस्थित भई साधारण किसिमले विधि मात्र पुरा गरिएको थियो ।
काठमाडौंको तलेजुमा पनि ‘द्यः कुहां बिज्याके’ गरियो
त्यसैगरी काठमाडौंको तलेजुमा पनि तलेजु भवानीलाई हनुमानध्वाखाको मूलचोकस्थित दशैं घरमा राख्न ल्याइएको छ ।
विहानको ९ः५६ बजेको साइत अनुसार तलेजु भवानीलाई द्यः कुहां बिज्याके गर्दै माथिको तलेजु मन्दिरमा रहेको तलेजु भवानीको मूर्तिलाई तल ल्याई मूलचोकस्थित दशैं घरमा राखिएको हो ।
सो अवसरमा काठमाडौंको तलेजुका मूल पुजारी कर्माचार्यहरुले तलेजुको मूर्तिलाई बोकेका थिए भने तलेजुका भुजाहारी राजोपाध्याय ब्राम्हणले खड्ग र ढाल बोकेका थिए ।
मल्लकालमा सिम्रोनगढका राजा नान्यदेव उपत्यका पस्दा तुलजा भवानी आफूसँगै लिएर आएको कथन छ ।
मल्ल राजाहरुको इष्टदेवी मानिने तुलजा भवानीलाई भगवतीको रूप पनि पुजिन्छ भने कुमारीको प्रतिरुपको रुपमा पनि मानिन्छ ।
Categorized in संस्कृति