आज नेवार समुदाय स्याक्वत्याक्व मनाउँदै
SamacharDesk – बिकाश | २०७७ कार्तिक ९, आइतबार

नेवार समुदायको मोहनि मनाउने क्रममा आज महानवमीको दिन स्याक्वत्याक्व मनाउँदैछन् ।
आज नेवार समुदाय विशेष गरी आफ्नो रोजगार वा आयश्रोतसँग सम्वन्धित सामग्रीहरु पूजा गर्ने गर्दछन् ।
आफ्नो सवारी साधनको साथमा दैनिक काममा प्रयोग हुने सामग्रीहरु आज पूजा गरिन्छ ।
किसानहरु पनि जमरा रोपिएको आगम कोठाभित्र राखी खेतमा प्रयोग हुने विभिन्न औजारहरु पूजा गर्ने गर्दछन् ।
कतिपयले आजको दिनलाई नेवार समुदायको विश्वकर्मा पूजा भनेर पनि व्याख्या गर्ने गर्दछन् ।
यसरी पूजा गरिँदा बलि दिनेहरुले बोका, हाँस, कुखुरा आदि बलि पनि दिने गर्दछन् भने बलि नदिनेहरुले कुभिन्डो काट्ने, अथवा अण्डा वा नरिवल फुटाउने गर्छन् ।
पूजाको क्रममा आश्विन शुक्ल प्रतिपदाको दिन रोपिएको जमरा पनि चढाइन्छ ।
आजै बेलुकी परिवारका सबै सदस्य एकै ठाउँमा ज्येष्ठताको आधारमा क्रमशः बसी भोज खाने गर्दछन् ।
भोज खान सिद्धिएपछि घरको ज्येष्ठ महिलाले बिहान दिइएको बलिबाटै ज्येष्ठताको क्रम अनुसार सगुन जस्तै दिने गरिन्छ । यसलाई ‘सी बीगु’ भनिन्छ ।
यसरी सी दिईँदा बोका भए बोकाको टाउकोको दायाँ आँखा सबैभन्दा ज्येष्ठलाई र त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो दिने गरिन्छ ।हाँस वा कुखुरा भएमा सिङ्गो टाउको नै परिवारको ज्येष्ठ व्यक्तिलाई दिइन्छ ।
भोलि टिकाको लागि आजै पूजाको क्रममा कालो टिका थाप्ने गरिन्छ । यस कालो टिकालाई मोहनि सिन्हः भनिन्छ ।
Categorized in संस्कृति