चेन्नाइले कोलकातालाई हराउँदा मुम्बइ प्ले अफमा
SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वान्टी ट्वान्टी क्रिकेट अन्तर्गत गए राती भएको खेलमा चेन्नइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।
दुबइ अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा चेन्नाईले कोलकातालाई ६ विकेटले हरायो ।
एक सय ७३ रनको लक्ष्य चेन्नाईले चार विकेटको क्षतिमा पुरा गर्दै कोलकातालाई पाखा लगाएको हो ।
चेन्नाईलाई जित दिलाउन ऋतुराज गायकवाडको ७२ रन महत्वपूर्ण रह्यो । उनले ५३ बलमा ६ चौका र २ छक्का हान्दै ७२ रन जोडेका थिए ।
त्यस्तै शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरान र रविन्द्र जाडेजाले अविजित रहँदै क्रमशः १३ र ३१ रनको योगदान दिए ।
१९ ओभरसम्म आइपुग्दा चेन्नाईले एक सय ६३ रन जोडेको थियो । अन्तिम बलमा जितका लागि १ रन बाँकि रहँदा जाडेजाले छक्का प्रहार गरेका थिए ।
बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रनको अर्धशतकिय इनिंग्स खेलेका थिए । त्यस्तै शुभमन गिलले २६ रन जोडेका थिए ।
बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए ।
यस खेलमा पराजय भोगेसँगै कोलकताको प्लेअफ यात्रामा अवरोध देखिएको छ ।
अंक तालिकाको पुछारमा रहेको चेन्नईले पाँचौं स्थानमा रहेको कोलकातालाई हराउँदा यसको फाइदा मुम्बइ इन्डियन्सलाई पुगेको छ । कोलकाताले खेल गुमाएसँगै तालिकाको शिर्ष स्थानमा रहेको मुम्बइ प्ले अफमा पुगेको छ ।
आइपिएलको १९औं संस्करणमा मुम्बई प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ ।
दोश्रो र तेश्रो स्थानमा क्रमशः रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स रहेको छ । १२ खेलबाट १२ अंक जोड्दै पञ्जाव चौथो स्थानमा छ ।
आइपिएलमा शुक्रबार पञ्जाव र राजस्थानबीच खेल हुनेछ ।
Categorized in स्पाेर्ट्स