arin enterprises

प्रहरी महानिरीक्षक क्षेत्रीबाट एफपियु युनामिड मिसन जाने टोलीलाई बिदाइ

SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई विदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरीहरुलाई बिदाइ गर्नुभयो ।

बिदाइ समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त समूहका कन्टिनजेन्ट कमाण्डर प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मिसनमा छनौट भई प्रशिक्षण कार्यमा समेत सफल भएका समूहका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई हार्दिक वधाइ तथा शुभकामना दिनुभयो ।

परिस्थितिमा आएको परिवर्तन र गतिशिलतालाई ध्यानमा राखी एफपियु छनौट मापदण्डलाई हालै अद्यावधिक गरिएको र अद्यावधिक मापदण्ड प्रहरी कर्मचारीको वृत्ति विकासको निम्ति थप लाभदायक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

महानिरीक्षक थापाले संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने प्रहरी कर्मचारी देश र संगठनको प्रतिनिधिको रुपमा रहने उल्लेख गर्नुभयो ।

‘विदेशमा रहँदा तपाईं व्यक्ति र संगठन मात्र होइन, एउटा मुलुक पनि हो भन्ने कुरा तपाईंको आत्मामा रहनु  पर्दछ’ क्षेत्रीले भन्नुभयो ।

 

मिसनमा खटिने प्रहरी कर्मचारी राष्ट्रकै प्रतिनिधि भएकोले मर्यादित आचरण र अनुशासित हुनुपर्ने भन्दै क्षेत्रीले युएनको मापदण्ड अनुसार व्यावसायिकता प्रदर्शन गरी दिएको जिम्मेवारी पूरा गर्न खटि जाने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रहरी प्रधान कार्यालय युएन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र कुमार बस्यालले समारोहमा मिसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

बस्यालले त्यसतर्फ खटि जाने समूहमा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ७, प्रहरी नायव निरीक्षक २४, प्रहरी सहायक निरीक्षक १७, प्रहरी हवल्दार ५५, प्रहरी जवान ६५ र प्रहरी कार्यालय सहयोगी ७ जना गरी जम्मा १ सय ८० जना रहेको जानकारी दिनुभयो ।

उक्त मिसनमा खटिएका प्रहरी कर्मचारीहरु दुई समूह गरी २०७७ कात्तिक १७ र मंसिर ११ गते त्यसतर्फ प्रस्थान गर्ने उहाँले जानकारी दिनुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय