इटालियन च्याम्पियन युभेन्ट्स बार्सिलोनासँग पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ कार्तिक १४, शुक्रबार

युरोपियन च्याम्पियन्स लिगको समूह ‘जी’ को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई हराएको छ ।
युभेन्ट्सको घरेलु मैदान युभेन्ट्स स्टेडियममा खेलिएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० गोलले हराएको हो ।
बुधबार राति भएको खेला १४ औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अगाडी बढाएका थिए ।
लियोनेल मेस्सीले पास दिएको बललाई डेम्बेलेले पोस्टमा छिराएका थिए ।
८५ औं मिनेटमा युभेन्ट्सको डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि युभेन्ट्स १० खेलाडीमा सीमित बनेको थियो ।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा अन्सु फातीलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो । सोही पेनाल्टीलाई कप्तान मेसीले गोलमा परिणत गर्दै बार्सिलोनालाई २–० को नतिजा सहित जित दिलाए ।
यो बार्सिलोनाको लगातार दोस्रो जित हो । बार्सिलोना २ खेलबाट ६ अंक जोड्दै समुह ‘जी’ को शीर्ष स्थानमा छ ।
दोस्रो स्थानको युभेन्ट्सको २ खेलबाट ३ अंक छ ।
Categorized in स्पाेर्ट्स