चेन्नाईसँग हार्दै पञ्जाव प्लेअफबाट बाहिरियो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १७, सोमबार

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा गए रातिको खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबलाई ९ विकेटले हराएको छ ।
पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नाईले १८ ओभर ५ बलमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो ।
चेन्नईलाई जित दिलाउन ऋतुराज गायकवाडले नटआउट ६२ रनको योगदान दिए । गायकवाडले ४९ बलमा ६ चौका र १ छक्का हान्दै ६२ रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।
ओपनर फाप डु प्लेसिस अर्धशतकबाट दुई रनले चुके । उनले ४८ रन जोडेका थिए ।
अम्बाती रायदुले अविजित रहँदै टिमलाई ३० रन दिए ।
पञ्जावका लागि क्रिस जोर्डनले एक विकेट लिए । जोर्डनको बलिङमा के.एल. राहुलले क्याच गर्दै फाप डु प्लेसिसलाई पेभिलियन फर्काएका थिए ।
यस अघि खेलमा टस हार्दै ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेटको क्षतिमा एक सय ५३ रनको योगफल बनाएको थियो ।
पञ्जावका लागि दीपक हूडाले ३० बलमा ३ चौका र ४ छक्का हान्दै अविजित ६२ रन बनाए । टिमका कप्तान केएल राहुल २९ र मयंक अग्रवाल २६ रनमा आउट भए । क्रिस गेलले १२ रन बनाए ।
बलिङमा चेन्नईका लुङ्गी एनगिडीले ३ विकेट लिए ।
चेन्नईसँगको हारसँगै पन्जाब प्ले अफको प्रतिस्पर्धाबाट बाहिरिएको छ । प्ले अफको प्रतिस्पर्धाबाट बाहिरिएको पञ्जावको १४ खेलबाट १२ अंक छ ।
Categorized in स्पाेर्ट्स