संक्रमण नियन्त्रणमा स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न माग
SamacharDesk – बिकाश | २०७७ कार्तिक २१, शुक्रबार

जनता समाजवादी पार्टी अन्तर्गतको जनसरोकार समन्वय समितिले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्दै संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न काठमाडौं महानगरपालिकासँग माग गरेको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पाँच बुँदै ज्ञापन पत्र बुझाउँदै समितिले वर्तमान समयमा स्थानीय तहमा अधिकार सम्पन्न बलियो स्थानीय सरकार आइरहेको अवस्थामा संक्रमणको रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न माग गरेको हो ।
समितिका तर्फबाट ज्ञानप पत्र बुझाउँदै समितिका संयोजक श्यामकृष्ण प्रजापतिले संक्रमण नियन्त्रणमा स्थानीय सरकारले चाल्ने कदममा आफुहरुले पूर्ण रुपमा साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
‘काठमाडौं उपत्यकामा संक्रमण दिनानुदिन बढ्दो दरमा छ । संक्रमण नियन्त्रणमा अघि बढ्न ढिला भइसक्यो,’ संयोजक प्रजापतिले भने । ‘अहिले स्थानीय सरकार अधिकार सम्पन्न छ, आफुसँग भएको अधिकार प्रयोग गर्दै अघि बढ्न हामी जोडदार माग गर्दछौं ।’
अहिले देशमा संक्रमितको संख्या बढ्दै गइरहेको र संक्रमणको केन्द्र विन्दु काठमाडौं उपत्यका बनेका अवस्थाको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाले काठमाडौंमा संक्रमण नियन्त्रणका लागि कुनै स्पष्ट योजना वा कार्यक्रम ल्याएको नदेखिएको भन्दै संघीय साथै स्थानीय सरकारको रवैयाप्रति समितिले भत्सर्ना गरेको छ ।
ज्ञापन पत्र बुझ्दै कामपा प्रमुख शाक्यले संक्रमण नियन्त्रणका लागि समितिको चासो सकारात्मक रहेको भन्दै आवश्यक व्यवस्थापनमा निरन्तर खट्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
समितिले काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने योजना बनाएको छ ।
