काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ कार्तिक २१, शुक्रबार

२०७२ बैसाख १२ को महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएर ढलेको काठमाडौंको ऐतिहासिक सम्पदा काष्ठमण्डप आउँदो २०७८ बैशाख १२ गते उद्घाटन हुने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा यसको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिने जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारे जानकारी लिन वसन्तपुर दरबार क्षेत्र पुग्नुभएका मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटन यसको गर्ने जानकारी गराउनुभएको हो ।
काष्ठमण्डप पुनर्निर्माणको अवस्थाबारे जानकारी लिदै परराष्ट्रमन्त्री ज्ञवालीले खुलेर प्रशंसा गर्नुभएको थियो ।
‘मौलिक परम्परालाई जोगाएर तिब्रताका साथ काम भएको देख्दा सरकारको तर्फबाट मैले धन्यबाद दिनैपर्छ,’ मन्त्री ज्ञवालीले भन्नुभयो । ‘यस्ता सम्पदा पुननिर्माणमा स्थानीय जनताको सहभागिता मुख्य देन हो ।’
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न गर्नु मुख्य दायित्व रहेको बताउनुभयो ।
काष्ठमण्डप पुननिर्माण समितिका संयोजक एवम् वागमती प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आएपनि तोकिएकै समयमा पुननिर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
‘अहिले करिब ७५ प्रतिशत काम सकिएको छ, फागुनको अन्तिमसम्ममा काम सक्नेछौं’ शाक्यले जानकारी गराउनुभयो । ‘सरकारले घोषणा गरेकै समयमा उद्घाटन गर्नेगरी अन्तिम काम भैरहेको छ ।’
शाक्यका अनुसार काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो ।
काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपिया उपलब्ध गराइसकेको छ ।
पुननिर्माणमा प्रयोग भएको प्रविधिबारे जानकारी दिदै संयोजक एवं प्रदेश सांसद शाक्यले सातौं शताब्दीकै प्रविधि प्रयोग गर्दै सोही अनुसारले सामग्रीको प्रयोगबाट पुनर्निर्माण भइरहेको बताउनुभयो ।
काष्ठमण्डप पुननिर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ ।
समितिले २०७५ वैशाख ३१ मा काम शुरु गरेको थियो । महानगरपालिका र समिति बीच जेठ २९ गते सम्झौता भएपछि पुननिर्माण शुरु भएको थियो ।
पुननिर्माण भैरहेको काष्ठमण्डपको चार घेरामा सय वटा खम्बा हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल खम्बा पहिलो घेरा हो ।
दोस्रो घेरामा जोडाका दरले ३२ वटा खम्बा ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक/एक वटाका दरले क्रमशः २८ र ३६ वटा खम्बा राखिनेछ ।
काष्ठमण्डपको पुननिर्माण गर्न ठुलो र सानो आकारको गरी २ लाख थान माःअप्पा ईँट्टा लाग्ने अनुमान गरिएको छ । ठुलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान ईँट्टा आवश्यक पर्नेछ ।
अवलोकनमा प्रदेश सांसद अजयक्रन्ति शाक्य, गौतम शाक्य लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।
मन्त्रीद्वयले काष्ठमण्डप पुननिर्माण अवलोकनपछि हनुमानढोकाको नासलचोक, कालीदमन चोक, मुलचोक, मोहनकाली चोक, तलेजुको समेत अवलोकन गर्नुभएको थियो ।
Categorized in संस्कृति