बैंगलोरलाई हराउँदै हैदरावाद दोश्रो क्वालिफायरमा
SamacharDesk – बिकाश | २०७७ कार्तिक २२, शनिबार

सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
युएईमा जारी आइपिएलको १३ औं संस्करणको गएराति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा पुगेको हो । आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न एलिमिनेटर खेलमा हैदरावादले बैंगलोरलाई ६ विकेटले पराजित गरेको हो ।
खेलमा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
हैदराबादलाई जित दिलाउन केन विलियम्सनले अविजित ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ५० रन बनाए ।
मनिस पाण्डेले २४ रन योगदान दिए भने ज्यासन होल्डर २४ रनमा अविजित रहे ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चाहलले १–१ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । डे भिलयर्सले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाएका थिए ।
यस्तै आरोन फिन्चले ३२ रन जोडेको बेला टिमका कप्तान विराट कोहली ६ रनमै पेभिलिएन फर्के । पाडिक्कलको खातामा मात्र १ रन जोडियो ।
हैदरावादका लागि ज्यासोन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै टी नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
हैदरावादसँग खेल गुमाएसँगै बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब हैदराबादले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । अब दोस्रो क्वालिफायरको विजेता र मुम्बई ईन्डियन्सबीच उपाधी भिडन्त हुनेछ ।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित भएको थियो । पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउँछ ।
मुम्बईले यस अघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
Categorized in स्पाेर्ट्स