arin enterprises

जनताको सहमतिसँगै अघि बढ्ने मन्त्री श्रेष्ठको भनाई

SamacharDesk – बिकाश | २०७७ कार्तिक २४, सोमबार

जनतालाई समस्यामा पारेर शहर वा देशको विकास हुन नसक्ने भएकोले जनताको सहमतिमै विकास निर्माणका योजनाहरु अघि बढाउने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले बताउनुभएको छ ।

नेवाः पत्रकारहरुको समूहसँगको भेटघाटमा मन्त्री श्रेष्ठले खोकना, बालाजु लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँको प्रसङ्ग कोट्याउँदै जनतासँगको सम्वाद र सहमतिबाटै आफु अघि बढ्ने बताउनुभयो ।

खोकनाको सम्पदा बचाउँदै फास्ट ट्र्याकको योजना अघि बढाउने र यसको लागि आफु खोकनामै गई खोकनाबासीसँग छलफल गर्ने श्रेष्ठको भनाई थियो ।

‘अहिले जनताले नै राज्य संचालन गर्ने विधि हो, म पनि जनताबाटै आएको जनप्रतिनिधि हो,’ श्रेष्ठको भनाई थियो । ‘जनताकै बीच गई म छलफल गर्नेछु, सबैको सहमति र सबैको सरसल्लाह अनुसार अघि बढ्न सकिन्छ ।’

फराकिला बाटा र अग्ला आधुनिक भवन मात्रले विकास नहुने कुरामा आफु स्पष्ट रहेको मन्त्री श्रेष्ठले भन्नुभयो ।

‘विकास भनेको आवश्यकता अनुसार हुने हो । जहाँ जसको आवश्यकता छ, त्यहि गर्नुपर्छ भन्नेमा म स्पष्ट छु,’ श्रेष्ठले थपे । ‘मौलिकता जोगाउनुपर्ने ठाउँमा घर भत्काएर सडक चौडा गनुको अर्थ रहन्न ।’

काठमाडौं देशकै राजधानी भएकोले यहाँ व्यवस्थित शहरीकरणको लागि विभिन्न निकाय, समूहसँग छलफल गर्दै विकासका योजना अघि बढाउने पनि श्रेष्ठको भनाई हो ।

‘काठमाडौंको विकासको लागि विद्यासुन्दर शाक्यको सोच, रामबीर मानन्धरको परिकल्पना र कृष्णगोपालको योजना सँगै अघि बढाउँछु,’ श्रेष्ठले भने । ‘ढल, खानेपानी, सडक आदि बनाउँदै यहाँको साँस्कृतिक, ऐतिहासिक सम्पदको संरक्षणको लागि पनि योजना बनाइनेछ ।’

काठमाडौं उपत्यका लगायत समग्र देशकै विकासका लागि आवश्यक सल्लाह सुझाव निरन्तर दिइरहन र आआफ्नो संचारमाध्यममार्फत मार्गदर्शन पनि गरिरहन समेत मन्त्री श्रेष्ठले नेवाः पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

छलफलमा उपस्थित नेवाः पत्रकारहरुले भने जथाभावि घर भत्काइ आम नागरिकको उठिवास गर्न नहुने र विकासको दुरगामी योजनासहित अघि बढ्नुपर्ने सुझाव मन्त्री श्रेष्ठलाई दिएका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले ईतिहासलाई तोडमरोड गरी कृष्णप्रसाद भट्टराई पत्रकार महासंघका संस्थापक सभापति भनिएको दावी गर्दै ईतिहास सच्याइ सत्यनारायण बहादुर श्रेष्ठको नाम कायम हुनुपर्ने माग राखे ।

Categorized in राष्ट्रिय