arin enterprises

प्रहरी र वकिलको सहकार्य हुनुपर्नेमा जोड

SamacharDesk – बिकाश | २०७७ कार्तिक २८, शुक्रबार

महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन सम्बोधन गर्नुभएको छ । महान्यायाधिवक्ता खरेलले महान्यायाधिवक्ताको कार्यालय सिंहदरबार र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट अनलाईन मार्फत निर्देशन सम्बोधन गर्नुभएको हो ।

उक्त अवसरमा महान्यायाधिवक्ता खरेलले पछिल्लो समयमा भइरहेका गम्भीर प्रकृतिका फौजदारी कसूरहरुमा पनि स्थानीय स्तरमा मेलमिलाप गरी अपराधलाई लुकाउन लगाउने जस्ता कार्यहरुप्रति महान्यायाधिवक्ताको कार्यालयले गम्भीर रुपमा लिएको बताउनुभयो ।

यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन गरिएको आग्रहलाई स्थानीय तहसम्म सम्प्रेषण गरिएको जानकारी खरेलले गराउनुभयो । स्थानीय तहका पदाधिकारी एवम् विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी कानूनी व्यवस्थाको प्रचार प्रशार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

समुदायलाई सचेत गराउनका लागि सम्बन्धित प्रहरी कार्यालय एवम् सरकारी वकील कार्यालयहरुले साझा प्रयास गर्न पनि उहाँको निर्देशन थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्यांकीय अवस्था सहित बस्तुस्थितिको विश्लेषणको आवश्यकता औंल्याउनुभयो ।

प्रहरी र सरकारी वकीलहरुले आपसी समन्वय र सहकार्य गर्न दुबै निकाय क्रियासिल हुन जरुरी रहेको धारणा उहाँले राख्नुभयो ।

प्रमाणमुखी अनुसन्धानमा जोड दिँदै उहाँले भन्नुभयो, ‘प्रमाण संकलन गर्ने हो, सृजना गर्ने होइन, सबुत प्रमाण ग्राह्य हो होइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धान निर्देशित हुनुपर्छ ।’

वरिष्ठतम् नायव महान्यायाधिवक्ता पद्यप्रसाद पाण्डेयको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले कार्यक्रमको उद्येश्य माथि प्रकाश पार्नुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नायब महान्यायाधिवक्ताहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सहन्यायाधिवक्ताहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख, ७७ वटै जिल्लाका सरकारी वकील कार्यालयका प्रमुखहरु र जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय