arin enterprises

न्हूदँमा सुनसान वसन्तपुर

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ मङ्सिर १, सोमबार

आज नेपाल सम्वत अनुसार कछलाथ्व प्रतिपदा अर्थात नेपाल सम्वतको नयाँ वर्ष । नेपाल सम्वत ११४१ को पहिलो दिन ।

विगतका वर्षहरुमा आजको दिन न्हूदँ अर्थात नयाँ वर्षलाई धुमधामका साथ मनाइन्थ्यो । न्हूदँको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्थ्यो ।

काठमाडौंको साथै विभिन्न स्थानहरुबाट हजारौंको संख्या सर्वसाधारण वसन्तपुरमा भेला हुन्थे र नयाँ वर्षको उमंगमा पुरा जोशका साथ नारा घन्काउँथे,

‘भिन्तुना दु भिन्तुना, न्हूगु दँया भिन्तुना’ (शुभकामना छ शुभकामना, नयाँ वर्षको शुभकामना)

‘भिन्तुनाया सः ज्वनाः, झी नेपाःमि वइच्वना’ (शुभकामनाको आवाज लिइ, हामी नेपाली आइरहेका छौं)

‘नेपाल सम्वत, राष्ट्रिय सम्वत’

तर यस वर्ष वसन्तपुर सुनसान रह्यो । न सर्वसाधारण भेला भए, न न्हूदँको र्‍याली निकालियो, न त नारा नै घन्कियो ।

आजको दिन हजारौं, अझ भनौं लाखको संख्यामा सर्वसाधारणको भीड रहने वसन्तपुरमा आज केही सयको संख्यामा मात्र भेला भए ।

न्हूदँको अवसरमा प्रकाशन हुने पुस्तक, क्यालेन्डर, टिसर्ट आदिको पनि स्टल रहनेमा आज भने क्यालेन्डरको दुइवटा स्टल र टिसर्टको एउटा स्टल मात्रै थियो ।

‘विगतमा आजको दिनमा ३ सय जति क्यालेन्डरहरु विक्रि हुने गर्दथ्यो, यसपालि त ३० वटा पनि विक्रि भएन,’ वर्षेनी नेपाल सम्वतको क्यालेन्डरको प्रकाशन गर्दै आएकि फोटोग्राफर उमा ताम्राकारले भनिन् । ‘यसपालि त क्यालेन्डरको लागत रकमसम्म पनि नउठ्ने भयो ।’

कोरोना महामारीका कारण यसपालिको ठुलठुला पर्व, उत्सवसँगै न्हूदँको कार्यक्रम पनि प्रभावित हुन पुग्यो । कोरोना संक्रमणको जोखिमका कारण यसपालि न्हूदँको र्‍याली कार्यक्रम स्थगित गरिएको थियो ।

न्हूदँको अवसरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा समारोह आयोजना हुने वसन्तपुरमा आज भने ५० जना जतिको सहभागीतामा औपचारिकतामात्र पुरा गरियो ।

विहान वसन्तपुरको डबलीमा ४०–५० जना जतिको संख्यामा न्हूदँ राष्ट्रिय समारोह समितिका प्रतिनिधिहरु भेला भएर नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःको शालिकमा माल्यार्पण गरे ।

माल्यार्पणपछि सांकेतिक रुपमा र्‍याली पनि निकालियो, त्यो पनि मात्र ५० जना जतिको सहभागीतामा ।

निराशा र संक्रमणको जोखिमको डरत्रासका बीच सानो सानो समूह भेला भएर नै भएपनि र थोरैको सहभागीतामा शुभकामना आदान प्रदान गरेरै भएपनि आज नेवार समुदायले न्हूदँको उत्सव भने मनाएका छन् ।

फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला – न्हूदँको विहान वसन्तपुर : फोटो फिचर

Categorized in राष्ट्रिय