arin enterprises

नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला शुरु

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला आज सुरु भएको छ ।

कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गर्दै विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा उक्त कार्यशाला आयोजना गरेको हो ।

सम्मेलनको भर्चुअल माध्यमबाट माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले हाल नेपालमा एक जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्तासमेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेको जानकारी गराउनुभयो । तीमध्ये २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको पनि उहाँले बताउनुभयो ।

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा छलफल शुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु, महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुको उपस्थितिमा छलफल शुरु भएको हो ।

कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ । भोलि शुक्रबार निष्कर्षहरु जारी गर्दै कार्यशालाको समापन हुनेछ ।

Categorized in राष्ट्रिय