मानव बेचविखन मुद्दामा फरार अभियुक्त पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १९, शुक्रबार

वैदेशिक रोजगारमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी मानव बेचविखन गर्ने कार्यमा संलग्र्न एक फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।
मोरङ कटहरी गाउँपालिका–९ घर भएका २९ वर्षीय राज चौधरी भन्ने राजेश कुमार चौधरीलाई प्रहरीले काठमाडौंको गोंगबुँस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
चौधरीले ४ जना महिलालाई नेपालगंजको रुपेडिया नाकाबाट भारतको दिल्ली पुर्याई १५ दिनसम्म बन्धक बनाई राखी शारीरिक र मानसिक शोषण गरी राखेको खुल्न आएको प्रहरीले बताएको छ ।
अनुसन्धानबाट वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले भारतबाट श्रीलंका हुँदै कुवेत पुर्याई बेचबिखन गर्ने चौधरीको योजना रहेको खुल्न आएको प्रहरीको भनाई छ ।
पीडित महिलाहरु कोही नभएको मौका पारी भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगी शान्ति पुनर्स्थापना केन्द्रको समन्वयमा नेपाल फर्केका हुन् । नेपाल फर्केपछि उनीहरुले दिएको जाहेरीको आधारमा माचन वेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
Categorized in अपराध