फेरी एक हुँदै विवेकशील र साझा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरी एकीकरण हुने भएको छ ।
दुई पार्टीबीच एकिकरण गरी भोलि विवेकशील साझा पार्टीको घोषणा गरिन लागेको छ ।
कोराना महामारीको अवस्थामा भोलि जुममार्फत कार्यक्रम गरी पार्टी एकिकरणको घोषणा गर्न लागिएको हो । पार्टी एकिकरण कार्यक्रम फेसबुकमार्फत लाइभ हुनेछ ।
विवेकशील साझा पार्टिमा अध्यक्ष भने साझाका रविन्द्र मिश्र हुनेछन् । त्यस्तै विवेकशीलका मिलन पाण्डे संयोजक रहनेछन् ।
६ महिनाभित्र एकता महाधिवेशन गर्ने समेत टुंगो लागेको बताइएको छ । पार्टीको केन्द्रीय समितिमा दुवै दलबाट ६५/६५ जना रहने र सचिवालयमा २६ सदस्य रहने सहमति दुई दलबीच भएको छ । त्यसैगरी चुनाव चिन्ह तराजु रहने सहमति पनि बनेको छ ।
यसअघि पनि यी दुई पार्टी एकिकरण भएर फुटिसकेको छ । २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।
पार्टी एकिकरणको १६ महिनामै पार्टी फुटेको थियो ।
पार्टी अध्यक्ष रविन्द्र मिश्रले विगतका कमी कमजोरीको क्षमायाचना गर्दै भनेका छन्, ‘तपाईँको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रुपान्तरणको संवाहक बनाउँछौं भन्नेमा हामी विश्वस्त छौं ।’
एकताका लागि प्रेरीत र सहयोग गर्ने सबैलाई मिश्रले आभार प्रकट गरेका छन् ।
‘हामी केवल अस्तित्वमा रहन होइन, नेतृत्वमा पुगेर यो देशमा सुशासन, संवृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हो’ मिश्र थप्छन् ।
यसैबीच साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएसँगै विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाइसकेका छन् । उनीहरुले तत्काल एकता गर्न उपयुक्त समय नभएको बताउँदै प्रेस विज्ञप्ती नै जारी गरेका थिए ।
Categorized in राजनीति