arin enterprises

पप गायन क्षेत्रका अघिल्लो पुस्ताको रक कन्सर्ट हुने

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १८, बिहिबार

पप गायन क्षेत्रका अघिल्लो पुस्ताको पप कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा आयोजना हुने भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा पप गायक भीम तुलाधरदेखि लसता जोशीसम्मको उपस्थितीमा कार्यक्रम हुन लागेको हो ।

ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ आउँदो असोज १९ गतेको दिन कार्यक्रम हुन लागेको हो । काठमाडौं न्यूरोडस्थित विशाल बजारको सासा इभेन्ट भेन्यूमा हुन लागेको उक्त कार्यक्रमको संयोजन भने वरिष्ठ पप गायक भीम तुलाधरले गरेका छन् ।

कार्यक्रममा माया देउ माया गर, अङ्गालौं अङ्गालोमा, मेरो त घरकि आमालाई लगायतका चर्चित पप गीतका गायक भीम तुलाधरका साथै बहार बनी, तिमि सामु नभएर लगायतका चर्चित  गीत गाएका गायक प्रवेशमान शाक्यले पनि आफ्नो प्रस्तुति दिन लागेका छन् ।

दशैं ईभमा माया मेरी माया गायक संजय श्रेष्ठ, प्रियशीको मन जित्नका गायक बबिन प्रधान, बम भोले गायक जेम्स प्रधानको पनि प्रस्तुति रहनेछ । साथै सचिन रौनियार, किरण खड्गी, लसता जोशी, रविन महर्जन, रवि रिमाल, सुरेश मानन्धर र वविता मानन्धरले आआफ्नो प्रस्तुति दिन लागेका छन् ।

गायक कलाकारहरुको प्रस्तुतिमा ज्योति घिमिरे, भुपेन्द्र बज्राचार्य, प्रवीण मानन्धर, माणिकमान सिंह र रुपम सिंह गुरुङले ब्याक अप ब्यान्डको रुपमा साथ दिन लागेका छन् ।

साथमा ड्याड, मम एन्ड सनका कलाकारहरुको सविन शाक्य, आर्यम नकर्मी र सपना शर्माको स्ट्यान्ड अप कमेडी पनि प्रस्तुत गरिने भएको छ । 

कार्यक्रमलाई भव्य र धुमधामका साथ आयोजना गर्न कार्यक्रमको अन्तिम तयारी चलिरहेको कार्यक्रम संयोजक भीम तुलाधरले जानकारी दिनुभयो ।

Categorized in पेजथ्री