arin enterprises

भेट्रान पप सिंगरहरुको भव्य कन्सर्ट

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १९, शुक्रबार

अघिल्लो पुस्ताका भेट्रान पप गायकहरुको लाइभ कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर काठमाडौंमा आयोजना भएको कन्सर्ट खचाखच दर्शकको बीच सम्पन्न भयो । 

ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ शुक्रबार काठमाडौंको विशालबजारमा उक्त कन्सर्टको आयोजना भएको थियो । कन्सर्टमा भीम तुलाधर, संजय श्रेष्ठ, प्रवेशमान शाक्य, वविन प्रधान, सचिन रौनियार, ज्योती घिमिरे लगायतका गायकहरुले आफ्ना लोकप्रिय गीतहरुबाट दर्शकको मनोरन्जन दिए । साथै किरण खड्गी, लसता जोशी, रविन महर्जन, रवि रिमाल, सुरेश मानन्धर र वविता मानन्धरको पनि प्रस्तुति कार्यक्रममा रहेको थियो ।

कन्सर्टको शुरुवात गायक साथै गितारिष्ट ज्योती घिमिरेले नशालु र मस्कि मस्किबाट माहौल तताए । गायक जेम्स प्रधानले करीव ३ दशक पुरानो गीत बम भोले र भैगो उनी जाउन् गाउँदा दर्शकहरु निकै रमाएका थिए । गायक संजय श्रेष्ठले आफ्नो जमानाको लोकप्रिय गीत एघार, बार, तेरको साथै माया मेरी माया त गाए नै । साथमा हिमालय व्यान्डको मुसुमुसु हाँसि देउ न लै लै पनि गाए । उनको प्रस्तुतिमा त दर्शकहरु ननाची बस्नै सकेनन् ।

 

अन्तिममा गायक भीम तुलाधरले मेरो त घरकी आमालाई, माया र अङ्गालौं अङ्गालोमाबाट दर्शकहरुलाई नचाए । आफ्नो प्रस्तुतिपछि गायक तुलाधरलाई स्टेजबाट निस्किन हम्मे हम्मे परेको थियो । दर्शकहरुले वान्स मोर भन्दै स्टेजबाट ओर्लिनै दिएनन् ।

कन्सर्टमा ज्योति घिमिरे, भुपेन्द्र बज्राचार्य, प्रवीण मानन्धर, माणिकमान सिंह र रुपम सिंह गुरुङले ब्याक अप ब्यान्डको रुपमा साथ दिएका थिए । साथमा ड्याड, मम एन्ड सनका कलाकारहरुको सविन शाक्य, आर्यम नकर्मी र सपना शर्माको स्ट्यान्ड अप कमेडीमा पनि दर्शकहरु पेट मिचिमिचि हाँसेका थिए । 

कार्यक्रमको संयोजन भीम तुलाधरले गरेका थिए ।

Categorized in पेजथ्री