भारतमा जनवरीबाट कोरोना भ्याक्सिन वितरण गरिने
SamacharDesk – बिकाश | २०७७ पौष ३, शुक्रबार

भारतीय स्वास्थ्य विभागले आगामी जनवरीबाट भारतमा कोरोना भ्याक्सिन वितरण शुरु गरिने जनाएको छ । एक गोप्य श्रोतलाई उद्धृत गर्दै बीबीसीले आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने केही कम्पनीलाई भ्याक्सिनको अपातकालीन प्रयोगको लागि अनुमति प्राप्त हुने सम्भावना रहेको जनाएको छ ।
आउँदो अगस्टसम्ममा ३० करोड जनालाई खोप दिने योजना रहेको छ । तीमध्ये एक करोड स्वास्थ्यकर्मीलाई खोपको लागि प्राथमिकतामा राखिने जनाइको छ ।
साथमा भ्याक्सिनको लागि अग्रपंक्तीमा रही सेवामा खटिने प्रहरी लगायतका सुरक्षाकर्मी र नगर निगमका कर्मचारीलाई पनि प्राथमिकतामा राखिने बताइएको छ । त्यसपछिको प्राथमितामा भने अन्य रोगबाट पिडिट ५० वर्ष माथिका व्यक्तिहरु पर्नेछन् ।
भारतमा कोरोनाभाईरस (कोभिड १९) बाट संक्रमितहरुको कुल संख्या एक करोडको नजिक पुगिसकेको छ भने लगभग एक लाख ४४ हजार जनाको मृत्यु भइसकेको छ । यद्यपिं नयाँ संक्रमणको संख्यामा कमी भने आएको छ ।
भारतमा विशेष गरी दुईवटा भ्याक्सिन चर्चामा रहेको छ । भारतको सीरम इंस्टीट्यूट र ब्रिटेनी फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाको सहयोगबाट बनाइएको कोभिशील्ड भ्याक्सिन र कोभ्याक्सिनले आपतकालीन प्रयोगको लागि आवेदन दिएको छ ।
यसैबीच भारतीय स्वास्थ्य मन्त्रालयले कोरोनाको भ्याक्सिन ऐच्छिक हुने बताएको छ । सरकारले भ्याक्सिन लिनका लागि कसैलाई दवाव नदिने र भ्याक्सिन लिने वा नलिने भन्ने कुरा व्यक्तिकै इच्छामा भर पर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले भ्याक्सिनबाट एन्टिबडि विकास गर्नका लागि भ्याक्सिनको दुई डोज आवश्यक पर्ने पनि बताएको छ ।
Categorized in अन्तर्राष्ट्रिय