arin enterprises

जनकपुरधाममा विवाह पञ्चमी मनाईँदै

SamacharDesk – कल्चर ब्यूरो डेस्क | २०७७ पौष ४, शनिबार

आज मार्ग शुक्ल पंचमी, जनकपुरधाममा मर्यादापुरुष राम र आदर्श नारी सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ ।

आजकै दिन अयोध्याका राजा दशरथका जेठा छोरा राजकुमार राम र मिथिलाका राजा जनककी जेठी छोरी राजकुमारी सीताबीच त्रेतायूगमा वैदिक सनातन संस्कृति अनुसार विवाह भएको मानिन्छ । मर्यादा पुरुषोत्तम भगवानी श्री राम र आदर्श नारी सीताको विवाह भएको दिनकै स्मरणमा प्रत्येक वर्ष आजको दिन जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइन्छ ।

मिथिलाको राजधानी जनकपुरधाममा आज महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गर्दछ ।

सो क्रममा राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ । सो क्रममा मिथिला र देशका विभिन्नै स्थानको साथै भारतबाट समेत भगवानी श्रीरामको वरियात आउने गरिन्छ ।

त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई पनि विशेष रुपमा सजाइएको डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा राम–सीताको स्वयंवर सम्पन्न भएपछि दुलाहा र दूलहीलाई बोकी ल्याइएका रथहरुलाई बाजागाना सहितको र्‍यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।

महोत्सव अपरान्हको समयमा आयोजना गरिने भएपनि एकाविहानैदेखि रामजानकी मन्दिरसहित मिथिला क्षेत्रका अन्य मन्दिरहरुमा दर्शनार्थीहरुको घुईँचो लाग्ने गर्दछ ।

विवाह महोत्सवमा सरिक भएमा मनले चिताएको फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास समाजमा रहि आएको छ ।

आजको दिन राम र सीताको विवाह भएको दिन भएकोले कसैको विवाह गर्नलाई साईत हेर्नुनपर्ने मान्यता पनि छ ।

Categorized in संस्कृति