कर्शनव बने नयाँ भैरव काठमाडौं
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ पौष ४, शनिबार

कोहिटी टोलका ४ वर्षीय कर्शनव शाक्य ईन्द्रजात्राका जिवीत देवता भैरव बनेका छन् ।
वर्षेनी ईन्द्रजात्राको अवसरमा कुमारीसँगै रथजात्रा गरिने भैरवको रुपमा कीर्तिपुण्य महाविहारका शाक्य कुलपुत्र कर्शनवलाई आज विधि अनुसार प्रतिस्थापन गरिएको हो ।
ज्ञानुप शाक्य र मनिला शाक्यका सुपुत्र कर्शनवलाई आज तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले विधि अनुसार पूजा सम्पन्न गरी भैरवको रुपमा प्रतिस्थापन गरेका हुन् ।
नयाँ भैरव बनेका कर्शनव आउँदो फागुन महिनामा ४ वर्ष पुरा हुन लागेका छन् ।
उनी विगतमा सनसाइन स्कूलमा नर्सरीमा अध्ययनरत थिए भने अहिले संक्रमणको जोखिमको अवस्थामा लकडाउनको समयबाट स्कूलको अध्ययन अवरुद्ध रहेको पिता ज्ञानुपले बताए ।
शाक्य महाविहार संघको पहलमा १६ बहालहरुमा जारी गरिएको सूचनाको आधारमा सहभागी भएका शाक्य कुलपुत्रबाट कर्शनव भैरवको लागि उपयुक्त देखी चयन भएका हुन् ।
यसअघि ओमबहालका रुजन शाक्य जीवित देवता भैरवका रुपमा रहेका थिए ।
हिजो ईन्द्रजात्राका अर्का जीवित देवता गणेशको रुपमा पाछैगल्लीका भाष्करदेव संस्कारित केशचन्द्र पारावर्त महाविहारका शाक्य कुलपुत्र रोदिन शाक्य प्रतिस्थापन गरिएको थियो ।
समय, परिस्थिती र उमेर हदका कारण पुरानो गणेश र भैरवलाई विदा दिई नयाँ देवता प्रतिस्थापन गर्नुपरेको संघले जनाएको छ ।
Categorized in संस्कृति