arin enterprises

पहुँचका आधारमा बनेका विमानस्थल संचालनमा आउन नसकेको मन्त्री ढकालको भनाई

SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालमा कतिपय विमानस्थलहरु राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण भएको बताउनुभएको छ ।

आज नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले अनावश्यक ठाउँमा पहुँच र शक्तिको आधारमा बनेका विमानस्थलहरु संचालनमा आउन नसकेको बताउनुभयो ।

देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरिएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताउँदै मन्त्री ढकालले पहुँच र शक्तिको आधारमा बनेका विमानस्थल संचालनमा आउन नसकेको दावी गर्नुभयो ।

सो अवसरमा मन्त्री ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राखिएको विषयको अन्तर्वस्तु केलाउनुपर्ने बताए ।

‘योग्यता नपुगेका कारण हो अथवा कुनै पनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्नेबारेमा गहिरो गरी हेर्नुपर्छ’ उनले बताए, ‘कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्छ ।’

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँको नोक्सानी भएको बताउनुभयो । महानिर्देशक पोखरेलका अनुसार नेपाल वायुसेवा निगमले झण्डै ५ अर्बको नोक्सानी व्यहोरेको छ भने  हिमालयन एयरलाइन्सले करीब २ अर्ब र आन्तरिकतर्फका हवाइ जहाज र हेलिकोप्टर अपरेटरहरूले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ ।

प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082