राष्ट्रपति निर्वाचनमा बाइडेनको जितले आधिकारीता पायो
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

अमेरिकी संसदले राष्ट्रपति निर्वाचनमा जो बाइडनको जीतलाई प्रमाणित गरेको छ ।
अमेरिकाको दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मतगणनालाई लिएर दर्ता गरिएको आपत्ती खारेज गरिदिएको छ । योसँगै बाइडन र कमला ह्यारिसको जीत सदनमा प्रमाणित भएको छ ।
राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० मत आवश्यक रहेकोमा बाइडनले ३ सय ६ मत प्राप्त गरेको पुष्टि गरिएको छ ।
अमेरिकी निर्वाचनको नतिजाको पुष्टि संसदबाट हुने गर्दछ । यहि प्रक्रिया पुरा गर्ने क्रममा संसद वैठक बस्दै गरेको बेला राष्ट्रपति ट्रम्पका समर्थकहरुले संसद भवनमै हमला गर्दै प्रक्रियामा अवरोध खडा गर्न खोजेका थिए ।
संसद भवनलाई कब्जा गरेका प्रदर्शनकारीहरुलाई त्यहाँबाट निकालेर खाली गराइएपछि सदन शुरु गरीएको थियो । रातभरी संसद वैठक बसेर सदनले बाइडन र कमला ह्यारिसको जीतलाई आधिकारीकता दिएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता हस्तान्तरण व्यवस्थित रुपमा हुने बताएका छन् । अमेरिकी संसद भवनमा हमला र संसदबाट बाइडन र ह्यारिसको जितलाई आधिकारिकता दिएपछि राष्ट्रपति ट्रम्पले यस्तो भनेका हुन् ।
यद्यपि चुनावमा धाँधली भएको आफ्नो दावीमा भने उनी अझै कायम छन् ।
Categorized in अन्तर्राष्ट्रिय