सुनचाँदी व्यवसायी महासंघमा माणिकको नेतृत्व
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २६, आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो महाअधिवेशनले शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघका नव निर्वाचित अध्यक्ष शाक्यले अघिल्लो कार्यसमितिले सुरु गरेका कार्ययोजनालाई पनि निरन्तरता दिँदै व्यवसायीको हकहितमा लाग्ने बताउनुभयो । विगतका समस्यासँगै हाल यस क्षेत्रमा अन्य चुनौती पनि थपिएको बताउँदै समाधानका लागि सबैसँग सहकार्य गर्दै लाग्ने शाक्यले बताउनुभयो ।
‘कोरोना महामारीका कारण सबै उद्योगी व्यवसायीको नराम्रो अवस्था छ, सुनको भाउ बढेर पनि व्यापार खस्केको अवस्था छ,’ शाक्यले बताउनुभयो । ‘खस्कँदो अवस्थालाई उकास्न लागिपर्नेछु ।’
सभाले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु चयन भएका छन् । एसोसिएटस उपाध्यक्षमा पवन सोमानी छन् ।
महासंघमा महासचिवको जिम्मेवारी भने धर्मसुन्दर बज्राचार्यले पाएका छन् । कोषाध्यक्षमा सुदीप श्रेष्ठ छन् भने सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भएका छन् ।
सभाले सहकोषध्यक्षमा भने पद्मसुन्दर शाक्यलाई निर्वाचित गरेको छ । प्रवक्तामा मनोजकुमार शाह छन् ।
महासंघको साधारण गत शनिबार काठमाडौंमा शुरु भएको थियो ।
नेपालभरिका सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुन २० गते विधिवत् रूपमा दर्ता भएको थियो ।
Categorized in बिजनेस