arin enterprises

सासुओलोलाई हराउँदै जुभेन्टस चौथो स्थानमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ पौष २७, सोमबार

इटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा युभेन्टसले सासुओलोलाई पराजित गरेको छ ।

आफ्नै मैदान आलियान्ज स्टेडियममा भएको खेलमा जुभेन्टसले सासुओलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । योसँगै साबिक विजेता युभेन्टसले अंक तालिकामा चौथो स्थान पक्का गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डानिलोले ५० औं मिनेटमा गोल गर्दै जुभेन्टसलाई अग्रता दिलाए । ५८ औं मिनेटमा गोल गर्दै सासुओलोका डिफ्रेलले खेललाई बराबरीमा ल्याए ।

खेलको अन्तिम समयतिर आएर ८२औं मिनेटमा आरोन राम्सी र इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गर्दै जुभेन्टसलाई जित दिलाए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रातो कार्ड खाँदै ओबिएङ्ग मैदानबाट बाहिरिएपछि सासुओलो १० खेलाडीमा सीमित भएको थियो ।

गएरातिको खेलपछि युभेन्टसको १६ खेलबाट ३३ अंक भएको छ ।

गएराति नै सम्पन्न अर्को खेलमा रोमा र इन्टरमिलानले २–२ गोलको बराबरी खेलेका छन् ।

खेलमा रोमाका लागि १७औं मिनेटमा रोमान स्क्रिनिआरले र ८६औं मिनेटमा गिआनलुका मनसिनीले एक/एक गोल गरे । इन्टरका लागि ५६ औं मिनेटमा मिलान स्क्रिनिआरले र ६३ औं मिनेटमा अचरफ हकिमीले एक/एक गोल गरे ।

दोश्रो स्थानमा रहेको इन्टर मिलानले १७ खेलबाट ३७ अङ्क बटुलेको छ भने १७ खेलबाट ३४ अंक जोडेको रोमा तेश्रो स्थानमा छ ।

शीर्ष स्थानको मिलानको १७ खेलबाट ४० अङ्क छ ।

Categorized in स्पाेर्ट्स