arin enterprises

राजकिय सम्मानसहित पद्मरत्नको अन्त्येष्टि सम्पन्न

SamacharDesk – बिराज | २०७५ कार्तिक १९, सोमबार

मानवअधिकारवादी तथा वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकिय सम्मान सहित अन्त्येष्टि सम्पन्न भएको छ । सोमबार शोभाभगवती कर्णदीपको उनको अन्तिम संस्कार गरिएको हो ।

दिवंगत तुलाधरलाई उहाँको ज्येष्ठ सुपुत्र सुजन तुलाधरले दागवत्ती दिनुभयो । सोभन्दा अघि, तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । सो अवसरमा शसस्त्र प्रहरीको कमाण्डले सलामी दिएको थियो ।

कर्णदीपमा अन्तिम श्रद्धाञ्जली दिन ऊर्जामन्त्री वर्षमान पुन, नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, संघीय सभाका सांसद कृष्णगोपाल श्रेष्ठ, सांसद जीवनराम श्रेष्ठ, संघीय समाजवादी फोरमका सह अध्यक्ष साथै सांसद राजेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सांसद बसन्त मानन्धर, पुकार श्रेष्ठ लगायत पुगेका थिए ।

अन्त्येष्टि भन्दा अघि, अन्तिम श्रद्धान्जलीका लागी तुलाधरको पार्थिव शरीरलाई बिहानको ७ बजेदेखि उहाँकै निवास लाजिम्पाटमा राखिएको थियो । तुलाधरको निवास लाजिम्पाटमा अन्तिम श्रद्धाञ्जली दिन गृममन्त्री रामबहादुर थापा, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, अमृतकुमार बोहरा, सांसद अष्टलक्ष्मी शाक्य, ३ नम्बर प्रदेशका पूर्व भौतिक विकासमन्त्री केशव स्थापित, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, नेपाल चेम्बर्स अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी, युवा नेता साथै सांसद गगन थापा लगायत पुगेका थिए ।

तुलाधरको शवयात्रा २ बजे लाजिम्पाटबाट शुरु भएको थियो भने शवयात्रा जमलबाट कमलाछि हुँदै, असनबाट तुलाधरको पुख्र्यौली टोल न्हाय्कंटोल, बाङ्गेमुढा, न्ह्यौखा, त्यंगल, क्षेत्रपाटी हुँदै शोभा भगवती कर्णदीप पुगेको थियो । 

स्वर्गीय तुलाधरलाई श्रद्धान्जली दिनका साथै शवयात्रामा समेत ठुलो संख्यामा राजनैतीक दलका नेता, कार्यकर्ता, नेपालभाषा क्षेत्रका विभिन्न संघसंस्थाका नेता, पदाधिकारी, कार्यकर्ता लगायत सर्वसाधारणको समेत उपस्थिती थियो । 

यसैबीच तुलाधरको चिना भने आशा सफूकुथिलाई हस्तान्तरण गरिएको छ । स्वर्गीय तुलाधरको चिनालाई सुरक्षित राख्नका लागी उहाँको चिना आशा सफूकुथिलाई दिइएको हो ।

नेवार समाजमा दिवंगतको चिनालाई शरीरलाई जलाउनुपर्ने परम्परा छ ।

Categorized in राष्ट्रिय