सम्पदा संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र रहेको मेयरको दावी
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ ४, आइतबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मुर्त–अमुर्त सम्पदाको संरक्षणमा काठमाडौँ महानगरपालिका एकाग्र भएर लागेको बताउनु भएको छ ।
वडा नं. २१ स्थित लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको आगं छेँ पुनर्निर्माणको शिलान्याश गर्दै शाक्यले परम्परा, इतिहास, सँस्कृति र सस्कारलाई जीवन्न बनाउन सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । सो अवसरमा महानगर प्रमुख शाक्यले महानगरपालिकाले सम्पदा निर्माण, पुनर्निर्माणमा अहिले गरेको लगानी सयौँ वर्षका लागि रहने विचार राख्नुभयो ।
‘हामी जनप्रतिनिधि अस्थायी हौँ । तर, यो कार्यकालमा सम्पदा निर्माण–पुःनर्मिाणसँगै सम्पदा संरक्षणका लागि गरिएका कामहरु यहाँका बासिन्दाका लागि स्थायी हुन,’ उहाँले भन्नुभयो ।
पुर्खाले आफ्नै आयस्रोतबाट निर्माण गरेको ऐतिहासिक विहार जीर्ण बनेका बेला स्थानीय सरकारको तर्फबाट सहयोग गर्न पाउँदा गौरव लागेको पनि उहाँले बताउनुभयो । स्थानीय सम्पदाको संरक्षण गुठियारहरुले र सरकारले ढल, बाटो–घाटोको मात्र निर्माण मात्रै निर्माण गर्ने मान्यता रही आएको भन्दै त्यो परम्परा तोड्दै महानगरपालिकाले अघि बढेको शाक्यको भनाई थियो ।
केही सम्पदा निर्माण–पुर्ननिमाणमा गुठियार–गुठियार बिचमै उत्पन्न विवादलगायतका कारणले ढिलाई भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले स्थानीयहरुले सहमति लिएर आएको अवस्थामा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदा निर्माण–पुर्ननिर्माणका लागि सहयोग गर्न महानगरपालिका तयार रहेको उहाँको भनाई छ ।
‘कतिपय ठाउँमा महानगरपालिकाको सहयोगमा निर्माण भएका सम्पदाको सम्पूर्ण स्वामित्व महानगरपालिकाले नै लिन्छभन्ने भ्रम पनि रहेको पाइयो,’ शाक्यले भन्नुभयो, ‘ढुक्क हुनुस्, महानगरपालिकाले पुनर्निर्माण गरेर सम्वन्धित समुदायलाई नै दिने हो ।’
शाक्यले कतिपय अवस्थामा पुरातत्व विभागले समन्वय नगर्दा, राजनीतिक र व्यक्तिगत स्वार्थले अवरोध गर्दा सम्पदा निर्माण–पुर्ननिर्माणमा अवरोध भएको पनि गुनासो गर्नुभयो ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तरगत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रहेको छ । २०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्शनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रै अवस्थित दिगुद्यः पनि पुनर्निर्माण सम्पन्न गरको छ । २०७२ सालको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको दिगुद्यः को पनि मेयर शाक्यले नै उद्घाटन गर्नुभएको थियो ।
Categorized in स्थानीय