arin enterprises

कार्तिक नाच आजबाट शुरु हुँदै

SamacharDesk – कल्चर ब्यूरो | २०७५ कार्तिक २६, सोमबार

ललितपुर मंगलबजारको कार्तिक डबलीमा प्रदर्शन गरीने विश्व प्रशिद्ध कार्तिक नाच आज सोमबारबाट शुरु हुँदैछ । यस वर्ष १२ दिन देखाइन लागेको कार्तिक नाच आज बाथः प्याखंसँगै शुरु हुन लागेको हो ।

कार्यक्रम तालिका अनुसार आज बाथः प्याखं अन्तर्गत ‘ल्यवः कायेगु’ देखाईंदैछ भने भोलि ‘खुसि छिकेगु’ देखाइनेछ । यसैगरी २८ गते बुधबारबाट मंसीर २ गते आइतबारसम्म उषाहरण लीलाका विभिन्न श्रृङ्खला प्रस्तुत गरिनेछ ।

त्यसपछि ३ गते सोमबार जलशयण र ४ गते बराह अवतार प्रस्तुत गरिनेछ । कार्तिक नाचमा बहुचर्चित र मुख्य प्रदर्शनको रुपमा लिइने नरसिंह अवतार भने ५ गते बुधबार देखाइने भएको छ । ६ गते वस्त्रहरण लीला र ७ गते दधि लीलासँगै यस वर्षको कार्तिक नाच सम्पन्न हुनेछ ।

यसैबीच २५ गते आइतबार कार्तिक नाचको नासः पूजा सम्पन्न भएको छ । नेवार समाजमा कला, कलाकारितासँग सम्बन्धित कुनै पनि कार्य शुरुवात गर्नुपूर्व नासःपूजा गर्ने परम्परा रहेको छ ।

नेपाल सम्वत ७६१ बाट सिद्धिनरसिंह मल्लले शुरु गर्न लगाएको भनिएको यो नाच सो समयदेखि नै अटुट रुपमा संचालन हुँदै आएको छ । ९० सालको अथवा ७२ सालको भूकम्पको समयमा पनि यो नाच नरोकिएको कार्तिक नाच व्यवस्थापन समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो ।

शुरुमा कार्तिक महिनाभरि नै देखाइने यो नाच समय परिस्थिती अथवा आर्थिक समस्याका कारण कुनै बेला २ दिन त कुनै बेला एक हप्ता प्रदर्शन भएको पनि उपाध्यक्ष शर्माले बताउनुभयो । पछिल्लो समयमा आएर यो नाचलाई १२ दिन प्रदर्शन गर्दै गरेको जानकारी शर्माले दिनुभयो ।

‘हाल स्थानीय सरकारबाट उपलब्ध बजेटको हिसाबले त दुइ दिनमात्र प्रदर्शन गर्न सकिन्छ’ शर्माको भनाई थियो, ‘तर हामीले अहिलेसम्म नरोकिएको संस्कृतिलाई किन रोक्ने भनेर जसोतसो निरन्तर गरिरहेका छौं । तर यस्तै अवस्था रहने हो भने यो नाचको भविष्य छैन ।’

विगतमा एक लाख रुपैयाँ बजेट उपलब्ध हुँदै आएको यस नाचको लागी गत वर्ष दुइ लाख रुपैयाँ बजेट उपलब्ध भएको प्रतापधरले बताउनुभयो । यो नाचलाई व्यवस्थित ढंगले संचालन गर्ने हो भने करीब १५ लाख रुपैयाँ आवश्यक पर्ने उहाँको भनाई छ ।

Categorized in संस्कृति