भारतमा कोरोनाविरुद्धको खोप लिनेको संख्या ३ लाख ८१ हजार बढि
SamacharDesk – बिकाश | २०७७ माघ ६, मंगलबार

भारतको कोरोनाविरुद्धको खोप अभियानको आज चौथो दिन पनि भ्याक्सिनेसन जारी छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार तेश्रो दिनसम्ममा ३ लाख ८१ हजार बढिलाई खोप दिइएको छ ।
खोप अभियानको पहिलो दुई दिनमा लक्ष्यको ६४ प्रतिशत मात्र खोप दिइएको बताइएको छ ।
पहिलो दुइ दिनमा भारत सरकारले करीब ३ लाख १६ हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो । तर २ लाख २४ हजार जनालाई मात्र खोप दिइएको थियो ।
यद्यपि अन्य देशमा भन्दा खोप अभियानको पहिलो दिन सबैभन्दा बढि संख्यामा खोप भारतमै दिइएको भारत सरकारको दावी छ ।
यसैबीच केही साइड इफेक्टका केसहरु पनि देखिएको छ ।
खोप दिइएपछि ५ सय ८० जनामा साइड इफेक्ट देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कुल संख्याको ० दशमलव २ प्रतिशत मात्र हो ।
भारतीय केन्द्रीय स्वास्थ्य मंत्रालयका अतिरिक्त सचिव डा. मनोहर अगनानीले खोपपछि देखिने स्वास्थ्य समस्या भ्याक्सिनको कारणले अथवा भ्याक्सिनेसन प्रक्रियाको कारणले अथवा अन्य कुनै कारणले पनि हुनसक्ने बताए ।
प्राय समस्याहरु दुखाई, खोपिएको ठाउँमा सुन्निनु, सामान्य ज्वरो, एलर्जी लगायतका सामान्य समस्याहरु नै देखिने डा. अगनानीको भनाई छ ।
गम्भीर समस्या देखिएमा भने अस्पताल जानुपर्ने उहाँको सुझाव छ ।
भारतमा अहिलेसम्म ३ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये दुई जनालाई डिस्चार्ज पनि गरिएको बीबीसीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय