निको हुनेको दर ९८ प्रतिशत, मृत्यु हुने २ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ माघ ११, आइतबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर ९८ प्रतिशत पुगेको छ ।
अहिलेसम्ममा २ लाख ६९ हजार ४ सय ५० जनालाई कोरोना संक्रमण २ लाख ६४ हजार एक सय ३७ जना निको भइसकेका छन् । गएको २४ घन्टामा ४ सय ३ जना संक्रमित निको भएका छन् ।
पछिल्लो पटक २ सय ७० जना नयाँ संक्रमित थप भएका छन् । जम्मा ४ हजार ४ सय १३ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय २२ जना महिला र एक सय ४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि २ हजार नाघेको छ । हालसम्म २ हजार एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्लो पटक ७ जना संक्रमितको मृत्यु भएको छ । उपचाररत सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ ।
तीमध्ये ७ सय ७५ जना संस्थागत आइसोलेसनमा र २ हजार ५ सय ३७ जना होम आइसोलेसनमा छन् ।
कालिकोट, रुकुमपश्चिम र मुगुमा सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ भने ५ सय बढि सक्रिय संक्रमित भएको जिल्लामा काठमाडौं मात्र रहेको छ । काठमाडौंमा हाल एक हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
Categorized in राष्ट्रिय