arin enterprises

लिभरपुललाई हराउँदै म्यानयु एफए कपको पाँचौं चरणमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ १२, सोमबार

एफ ए कप फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदै पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानयुलाई विजयी गराउन मेसन ग्रिनउड, मार्कस रासफर्ड र ब्रुनो फर्नान्डिजले एक एक गोल गरे । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरेपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

खेलमा अग्रता लिभरपुलले नै लिएको थियो । सलाहले १८ औैं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । मेसन ग्रिनउडले २६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

फेरी ४८ औं मिनेटमा रासफोर्डको गोलबाट म्यानयु अघि बढ्यो । तर सलाहले ५८ औं मिनेटमा खेललाई बराबरीमा फर्काए । ७८ औं मिनेटमा पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै ब्रुनो फर्नान्डेजले म्यानयुलाई जित दिलाए ।

अब पाँचौं चरणमा म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

एफए कप अन्तर्गतकै गएराति सम्पन्न चौथो चरणको आ–आफ्नो खेल जित्दै चेल्सी, लेस्टर सिटी, एभर्टन र बर्न्ले पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।

चेल्सीले पाँचौ चरणमा प्रवेश गर्न लुटन टाउनलाई ३–१ ले हराएको छ । चेल्सीलाई जित दिलाउन ट्याम्मी अब्राहमले ह्याट्रिक गरे । लुटन टाउनका लागि जोर्डन क्लार्कले एक गोल फर्काए ।

त्यस्तै लेष्टर सिटीले ब्रेन्टफोर्डलाई ३–१ गोल अन्तरले पाखा लगाएको छ । खेलको छैठौं मिनेटमा म्याड्स बेक सोरेनसेनले ब्रेन्टफोर्डलाई अघि बढाएपनि पछि सेन्गिज अन्डर, युरी टाइलेमन्स र जेम्स म्याडिसनले एक÷एक गोल गरेर लेस्टरलाई जित दिलाए ।

शेफिल्ड वेनस्डेविरुद्धको खेलमा एभर्टनलाई ३–० को जित दिलाउन डोमिनिक क्यालभर्ट, रिचार्लिसन र येरी मिनाले एक एक गोल गरे ।

बर्न्लेले पनि फुल्हमलाई ३–० गोल अन्तरले नै हरायो । बर्न्लेलाई विजयी गराउन जे रोड्रिगुइजले दुई र केभिन लंगले एक गोल गरे ।

Categorized in स्पाेर्ट्स