वेस्टब्रोमलाई हराउँदै म्यानसिटी शिर्ष स्थानमा
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ १४, बुधबार

इङ्खलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रोममाथि शानदार जित हात पार्दै शिर्ष स्थानमा उक्लिएको छ । म्यानसिटीले वेस्ट ब्रोमलाई उसकै मैदान ५–० गोल अन्तरले पाखा लगाइदियो ।
खेलको म्यानसिटीले पहिलो हाफमै ४ गोलको वर्षा गरिसकेको थियो भने दोश्रो हाफमा एक गोल गरेको थियो ।
इके गुन्डोगानले छैठौं मिनेटमा गोल गर्दै म्यानसिटीलाई अगाडी बढाए भने २० मिनेटमा होवा क्यान्सेलोले टिमलाई दोश्रो गोल दिए । ३० औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोश्रो र टिमका लागि तेश्रो गोल गरे । पहिलो हाफको समाप्तीतिर पुग्दा इन्जुरी समयको दोश्रो मिनेटमा रियाद माहरेजले चौथो गोल थपे ।
५७ औं मिनेटमा राहिम स्टर्लिङले पाँचौ गोल गर्दै म्यानसिटीलाई ५–० को शानदार नतिजासहितको जित दिलाए ।
जितपछि शिर्ष स्थानमा पुगेको म्यानसिटीको १९ खेलबाट ४१ अङ्क छ । पराजित टोलि वेस्ट ब्रोम भने २० खेलबाट ११ अङ्कसहित १९ औं स्थानमा छ ।
त्यस्तै गएराति नै सम्पन्न इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गतकै अर्को खेलमा आर्सनलले साउथह्याम्पटनलाई १ का विरुद्ध ३ गोलले हराएको छ ।
खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । खेलको तेश्रो मिनेटमै स्टुआर्ट आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्पटनलाई दिलाएको पाँच मिनेटको लागि मात्र कायम रह्यो ।
आठौं मिनेटमा निकोलास पेपेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ ले अगाडी बढाए भने ७२ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले गोल गर्दै आर्सनलको जित सुनिश्चित बनाए ।
जितसँगै आर्सनल ३० खेलबाट ३० अङ्कसँगै आठौं स्थानमा उक्लिएको छ । ११ औं स्थानमा रहेको साउथह्याम्पटनको १९ खेलबाट २९ अङ्क छ ।
त्यस्तै हिजो राति नै सम्पन्न अर्को खेलमा चौथो स्थानको वेस्ट ह्याम युनाइटेडले १३ औं स्थानको क्रिस्टल प्यालेसलाई ३–२ गोलले पाखा लगाएको छ । खेलमा वेस्ट ह्यामलाई जित दिलाउन टोमस साउसिकले २ र क्राइग डाउसनले एक गोल गरे भने पराजित टोल क्रिस्टलका लागि विलफ्रेड जाहा र मिसि बटासुयायीले एक/एक गोल गरे ।
हिजै सम्पन्न अर्को खेलमा १२ औं स्थानको लिड्स युनाइटेडले १६ औं स्थानको न्यूक्यासल युनाइटेडलाई २–१ गोलले हराएको छ । लिड्सलाई जित दिलाउन राफिन्हा र ज्याक ह्यारिसनले एक एक गोल गरे भने न्यूकासलका मिगुइल अल्मिरोनले एक गोल फर्काए ।
Categorized in स्पाेर्ट्स