arin enterprises

खोपलाई व्यापार बनाइनु नहुनेमा प्रधानमन्त्रीको जोड

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ १४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप नाफा कमाउने माध्यम हुनुनहुनेमा जोड दिनुभएको छ ।

कोरोनाविरुद्धको खोपको बालुवाटारबाट शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको मावन जातिको साझा उपलब्धी र साझा सफलता हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सरकारले सम्पूर्ण नेपाली र नेपालमा बसोबास गर्नेलाई विना भेदभाव, प्राथमिकताका आधारमा निःशुल्क खोप उपलब्ध गराउने नीति लिएको दोहयाउनुभयो ।

‘चाहे हामीले त्यो अनुदानको रुपमा प्राप्त गरुँ अथवा हामीले किन्नु परोस्, देशवासीलाई यो खोप निःशुल्क विना भेदभाव प्राथमिकताका आधारमा उपलब्ध गराउनेछौं’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यसपछि नेपालले कोभ्याक्स पनि प्राप्त गर्ने प्रयासको साथमा अरु प्रयास पनि भइरहेको र भारत सरकारसँग उचित मूल्यमा थप भ्याक्सिन खरिद गर्नका लागि समेत कुराकानी भइरहेको ओलीले जानकारी गराउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने लक्ष्य लिएको पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा खोप अभियानको भर्च्युअल रुपमा शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतको तदारुकताको प्रशंसा गर्नुभयो ।

‘म धेरै धेरै प्रशंसा गर्न चाहन्छु उहाँहरुको देशसेवाप्रतिको, जनता सेवाप्रतिको समर्पणको भाव र त्यागको भावको’ प्रधानमन्त्री ओलीको भनाई थियो । ‘आफु खतरा मोल्न तयार भएरपनि देश र जनताको सेवामा समर्पित भएर लाग्न नहिचकिचाउने, त्यस कुरालाई म उच्च सम्मान गर्न चाहन्छु ।’

कोभिडका नकारात्मक पक्षसँगै जीवनसँग जोडिएका केही पाठहरु पनि सिकाएको भन्दै ओलीले कोभिड महामारीको अवस्थाले जीवन र जगतको सम्वन्ध, जीवन र प्रकृतीको सम्वन्धमा पराम्परागत मान्यतालाई वैज्ञानिक दृष्टिकोणले पुनर्परिभाषित गर्ने र ठिक ठाउँमा ल्याउने काम गरेको विचार राख्नुभयो ।

कोभिडविरुद्धको लडाईँमा अत्यधिक महत्वपूर्ण पक्ष भएर पनि खोप पुरै विश्वसनीय नहुन पनि सक्ने सम्भावना औंल्याउँदै प्रधानमन्त्री ओलीले मास्क, सामाजिक दुरीको साथमा साबुन पानी, स्यानिटाइजरले हात सफा गर्ने लगायतका सावधानीलाई पनि जारी राख्नुपर्नेमा जोड दिनुभयो ।

आउँदो १८ गतेसम्म ७७ जिल्लाको ३ सयवटै खोप केन्द्रबाट खोप वितरण हुने ओलीले जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप वितरणको पहिलो चरणमा अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक लगायतका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शव वाहन चालक, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई खोप दिइने जानकारी गराउनुभयो ।

आज उपत्यकाको १७ को साथै देशभरको एक सय २० वटा खोप केन्द्रबाट खोप वितरण शुरु गरिएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

खोप वितरणपछि पनि सामाजिक दुरी, मास्क, स्यानिटाइजर लगायतका सुरक्षाका उपाय अवलम्वन गर्नको लागि पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।

Categorized in राष्ट्रिय