arin enterprises

२८ हजार ७३२ जनाले कोरोनाविरुद्ध खोप लिए

SamacharDesk – बिकाश | २०७७ माघ १५, बिहिबार

नेपालमा कोरोनाविरुद्धको खोप अभियान आज दोश्रो दिन देशका ७७ वटै जिल्लामा निरन्तर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १९ हजार ६ सय ४८ थप व्यक्तिले कोरोनाविरुद्धको खोप लिएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज ५ बजेसम्मको तथ्याङ्क अनुसार कुल २८ हजार ७ सय ३२ जना व्यक्तिले खोप लिइसकेका छन् ।

आज प्रदेश एकमा २ हजार ५ सय ९२, प्रदेश २ मा एक हजार ४ सय ४८ र वागमती प्रदेशमा ८ हजार ७ सय ६७ जनालाई खोप दिइएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ३ हजार १०, लुम्बिनी प्रदेशमा एक हजार ५ सय ७०, कर्णाली प्रदेशमा ९ सय २६ र सुदुरपश्चिम प्रदेशमा एक हजार ३ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपाल सरकारले हिजोबाट कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियानको शुरुवात गरेको हो । पहिलो चरणको खोप वितरणको क्रममा संक्रमणको जोखिमको अवस्थामा अग्रपंक्तिमा रहेर सेवारत व्यक्तिहरुलाई खोप दिईँदैछ ।

यस अन्तर्गत स्वास्थ्यकर्मीहरु, फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालकहरु, एम्बुलेन्स तथा शव वाहन चालक र सहचालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयम्सेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु, अन्तर्राष्ट्रि प्रवेश विन्दुमा कार्यरत कर्मचारी र स्वाथ्यकर्मी, वृध्दाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी, जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरुलाई खोप दिईँदैछ ।

Categorized in राष्ट्रिय