arin enterprises

साउथह्याम्पटनमाथि म्यानयुको कीर्तिमानी जित

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २१, बुधबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले कीर्तिमानी जित हासिल गरेको छ ।

म्यानयुले आफ्नै मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्याम्पटमाथि ९–० गोलको कीर्तिमानी जित निकालेको हो । योसँगै म्यानयुले सर्वाधिक फराकिलो जितको कीर्तिमानको बराबरीसमेत गरेको छ ।

म्यानयुलाई कीर्तिमानी जित दिलाउन एन्टोनी मार्टियलले दुई गोल गरे । त्यसैगरी आरोन वान बिसाका, ब्रुनो फर्नान्डेज, एडिन्सन काभानी, मार्कस रास्फोर्ड र डेभिड जेम्सले एक/एक गोल गरे ।

फराकिलो जित हासिल गर्ने क्रममा म्यानयुले एक गोल भने साउथम्ह्याम्पटनका ज्यान बेड्नारेकबाट आत्मघाती पाएको थियो ।

खेलको दोश्रो मिनेटमै मिडफिल्डर एलेक्स ज्यान्कविट्ज रातो कार्ड खँदै मैदानबाट बाहिरिएर १० खेलाडीमा सिमित भएको साउथह्याम्पटनका डिफेन्डर ज्यान बेड्नारेकले ८६ औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितसँगै लिगको दोश्रो स्थानमा रहेको म्यानयुले शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । म्यानयुको २२ खेलबाट ४४ अंक भएको छ भने शीर्ष स्थानको म्यानसिटीले २० खेलबाट ४४ अंक जोडेको छ ।

आर्सनल वुल्भ्ससँग पराजित

प्रिमियर लिग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा १० औं स्थानमा रहेको आर्सनल १४ औं स्थानको वुल्भरह्याम्पटन वान्न्डर्ससँग २–१ ले पराजित भएको छ ।

वुल्भ्सलाई जित दिलाउन रुबेन नेभिस र हुवाँ मौटिनोले एक/एक गोल गरे । वुल्भ्सका लागि निकोलास पेपेले एक गोल फर्काए ।

खेलमा डिफेन्गर डेभिड लुइज र गोलरक्षक बर्न्ड लेनो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल ९ खेलाडीमा समेटिएको थियो ।

तालिकामा वुल्भ्सको २२ खेलबाट २६ अंक छ भने आर्सनलको समान २२ खेलबाट ३१ अंक रहेको छ ।

हिजो राति नै सम्पन्न लिगका अन्य खेलहरुमा शेफिल्ड युनाइटेडले वेस्ट ब्रोमलाई २–१ ले हराएको छ । शेफिल्डका लागि जायडेन बोगल र विल्लि सार्पले एक/एक गोल गरे भने म्याट फिलिपले वेस्ट ब्रोमलाई एक गोलको सान्त्वना दिए ।

क्रिस्टल प्यालेसले पनि न्यकासल युनाइटेडलाई २–१ गोल अन्तरले नै हराएको छ । क्रिस्टलका लागि जाइरो रिडवाल्ड र गेरी क्याहिलले एक/एक गोल गरे । न्यूक्यासलका लागि जोन्जो सेल्भेले एक गोल गरे ।

Categorized in स्पाेर्ट्स