म्यानयु र एभर्टनले खेले ३–३ गोलको बराबरी
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २५, आइतबार

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर युनाईटेड र एभर्टनको खेल बराबरी भएको छ । म्यानचेस्टर युनाईटेडको मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेको हो ।
खेलमा एडिन्सन काभानीले २४ औं मिनेटमा गोल गर्दै म्यानयुलाई अग्रता दिए भने ब्रुनो ४५ औं मिनेटमा फर्नान्डिजले टिमको अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा म्यानयु २–० ले अगाडी रह्यो । दोश्रो हाफ शुरु भएको ७ मिनेटभित्र एभर्टन खेललाई बराबरीमा ल्याउन सफल भयो ।
४९ औं मिनेटमा डोकोरे र ५२ औं मिनेटमा जेम्स रोड्रिगुइजले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए ।
७० औं मिनेटमा स्कट म्याक्टोमेनीको गोलसँगै म्यानयु फेरी ३–२ ले अग्रता लियो । खेल सकिनै लाग्दासम्म अगाडी रहेको म्यानयुले खेलको अन्तिम सयमको केही सेकेन्डमा भने आफ्नो अग्रता बचाउन सकेन ।
इन्जुरी समयको चौथो मिनेटमा डोमिनिक कालभर्टले गोल गर्दै खेललाई बराबरीमा ल्याइदिएपछि म्यानयु एभर्टनसँग अंक बाँड्न बाध्य बन्यो ।
यस खेलपछि दोश्रो स्थानमा रहेको म्यानयुको २३ खेलबाट ४५ अंक भएको छ भने २१ खेलबाट ३७ अंक जोड्दै एभर्टन छैठौं स्थानमा छ ।
आर्सनल एस्टन भिल्लासँग पराजित
प्रिमियर लिग अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा आठौं स्थानमा रहेको एस्टन भिल्लाले १० औं स्थानमा रहेको आर्सनललाई १–० ले हराएको छ । खेल शुरु भएको दोश्रो मिनेटमै ओल्ली वाट्किन्सले गरेको गोलले नै एस्टन भिल्लाको जितको निर्णय गर्यो ।
एस्टन भिल्लाको २१ खेलबाट ३५ अङ्क छ भने आर्सनलले २३ खेलबाट ३१ अङ्क बटुलेको छ ।
गए राति नै सम्पन्न अर्को प्रतिस्पर्धात्मक खेलमा न्यूकासल युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले हराएको छ । न्यूक्यासललाई जित दिलाउन जोय विल्लकले एक गोल र मिगुइल अल्मिरोनले दुई गोल गरे । पराजित टोली साउथह्याम्पटनका लागि ताकुमि मिनामिनो र जेम्स वार्डले एकरएक गोल फर्काए ।
४९ औं मिनेटमा जेफ हेन्ड्रिक रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्यूकासल १० खेलाडीमा सिमित बनेको थियो । २३ खेलबाट २५ अङ्क जोडेको न्यूकासल १६ औं स्थानमा छ भने १२ औं स्थानमा रहेको साउथह्याम्पटनको २२ खेलबाट २९ अङ्क छ ।
हिजै बर्न्ले र ब्राइटनले एकरएक गोलको बराबरी खेलेका छन् । खेलमा बर्न्लेका लागि जोन बर्गले र ब्राइटनका लागि जुइस डकले गोल गरेका थिए ।
१५ औं स्थानमा रहेको ब्राइटनको २३ खेलबाट २५ अङ्क भएको छ भने २२ खेलबाट २३ अङ्क जोड्दै बर्न्ले १७ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स