arin enterprises

मंकाः खलःलाई सक्रिय बनाउनुपर्ने अभियन्ताहरुको जोड

SamacharDesk – सोसियल ब्यूरो | २०७५ पौष ३, मंगलबार

नेपालभाषा मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा नेपालभाषा क्षेत्रका अभियन्ताहरुले माग गरेका छन् । मानवअधिकारवादी नेता साथमा नेपालभाषा मंकाः खलःका अध्यक्ष समेत रहेका स्वर्गीय पद्मरत्न तुलाधरको ४५ दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले मंकाः खलःलाई पुनजीर्वन दिँदै पद्मरत्नको विचारलाई अमर बनाउन सकिनेमा जोड दिए ।

मंकाः खलःका महासचिव नरेशवीर शाक्यले मंकाः खलःले विगतमा गर्दै आएका कार्यक्रमहरुको जानकारी दिँदै मंकाः खलःको नाममा रहेको जग्गामा पद्मरत्न स्मृति भवन बनाउने योजना सार्वजनिक गर्नुभयो । उक्त भवनलाई नेपालभाषा र नेवार समाज सम्बन्धी अध्ययन केन्द्र बनाइने पनि शाक्यले प्रष्ट्याउनु भयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विगतमा पद्मरत्न तुलाधरसँग भएका सहकार्य साथै उनको योगदानको चर्चा गर्दै पद्मरत्न स्मृति भवनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले मंकाः खलः र पद्मरत्न एक अर्कामा पर्यायवाची भइसकेको बताउनुभयो । पद्मरत्नको विचारलाई अमर बनाउने हो भने मंकाः खलःलाई पुनः सक्रिय बनाउनुपर्नेमा बज्राचार्यले जोड दिनुभयो ।

स्वर्गीय तुलाधरकी सुपुत्री सुम्निमा तुलाधर आफ्ना बुवालाई सम्झिँदै निकै भावुक बनिन् । उनका शब्दहरुले कार्यक्रममा धेरैको आँखा रसाएको थियो । आफ्ना बुवाको धेरै सपनाहरु अझै पुरा हुन बाँकि रहेकोले उक्त सपना पुरा गर्न सबै लागीपर्न उनले आव्हान गरीन् । समाजमा समानता र समावेशीता व्यवहारमा लागू भएमा र मानवअधिकार सुनिश्चित गर्न सकेमा आफ्ना बुवाप्रति सच्चा श्रद्धान्जली हुने उनको भनाई थियो ।

गत कार्तिक १८ गते कार्डियाक प्युलमोनरी एटेकका कारण तुलाधरको निधन भएको थियो ।

Categorized in समाज