नयाँ राष्ट्रिय एकताका लागि लडेको प्रचण्डको भनाई
SamacharDesk – बिकाश | २०७७ फाल्गुण २९, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ ।
उहाँले सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडाईँ लडेको प्रष्ट पार्नुभयो ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताउनुभयो ।
पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको बताउँदै दाहालले जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताउनुभयो ।
यसअघि पनि आफुलाई पटक पटक राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै उहाँले प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताउनुभयो । आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको उहाँको भनाई थियो ।
जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले लेखक प्रकाश विकल्पबाट लिखित पुस्तक समृद्धिको रोडम्यापको विमोचन गर्नुभयो ।
कार्यक्रममा लेखक युग पाठक र राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पुस्तकको समीक्षा गर्दै आफ्नो विचार राखेका थिए । लेखक प्रकाश विकल्पले आम नागरिकमा चेतनाको विकासमा विपि र प्रचण्डको योगदानको स्मरण गर्नुभयो ।
Categorized in राजनीति